किसान र दुग्ध उत्पादकलाई राहत दिन घरघरमा पशु आहारदेखि पशु बीमासम्मका कार्यक्रम आवश्यक : अध्यक्ष ढकाल

मोरङ । किसान तथा दुग्ध उत्पादकलाई राहत दिने उद्देश्यले पशु बीमा, उन्नत पशु नश्ल सुधार, घरघरमा पशु आहार वितरणलगायतका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने कामधेनु दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष यादव ढकालले बताएका छन्।

ढकालका अनुसार आगामी नीति तथा कार्यक्रममा आबद्ध सेयर सदस्यलाई रु. १ लाखसम्मको बीमा सुविधा उपलब्ध गराउने, दूधको लागत मूल्य घटाउन पशु बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने तथा किसानको घरघरमै पुगेर पशु दाना वितरण गर्ने योजना अघि सार्न आवश्यक छ।

त्यस्तै, उच्च गुणस्तरका पशु नश्लको विकास तथा नश्ल सुधार कार्यक्रमलाई विस्तार गर्दै आगामी दिनमा थप ३५० जना किसानलाई सेयर सदस्यका रूपमा विस्तार गर्ने नीति लिनुपर्ने उनको भनाइ छ। यसबाट सहकारीसँग आबद्ध किसानको संख्या बढ्नुका साथै दुग्ध उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरिएको उनले बताए।

अध्यक्ष ढकालले पछिल्लो समय किसानले उत्पादन लागत बढेका कारण ठूलो चुनौती व्यहोर्नुपरेको उल्लेख गरे। डिजेल, पेट्रोल, चिनी, ग्यास तथा विद्युत् महसुलमा भएको वृद्धिले उत्पादन लागत बढाएको र त्यसको प्रत्यक्ष असर दुग्ध व्यवसायमा परेको उनको भनाइ छ।

“अहिले डिजेल–पेट्रोल महँगो छ, चिनी र ग्यासको मूल्य बढेको छ। विद्युत् महसुलमा समेत कर तथा भ्याटको भार छ। अर्कोतर्फ बजारमा चिनीसमेत सहज रूपमा पाउन नसकिएको अवस्था छ,” अध्यक्ष ढकालले भने, “यस्तो अवस्थामा किसानलाई राहत दिने गरी सहकारी र राज्य दुवैले उत्पादन लागत घटाउने कार्यक्रम ल्याउन आवश्यक छ।”

दूध उत्पादनमा प्रयोग हुने पशु आहार, औषधि तथा अन्य सामग्रीको मूल्य नियन्त्रण गर्न सके किसानको उत्पादन लागत घटाउन सकिने ढकालको भनाइ छ। सहकारीमार्फत किसानलाई आवश्यक सामग्री तथा सेवा सहज रूपमा उपलब्ध गराउँदै दुग्ध उत्पादन बढाउनेतर्फ आगामी कार्यक्रम केन्द्रित गरिनुपर्ने उनले बताए।

उनले किसानको लगानी सुरक्षित गर्दै दुग्ध व्यवसायलाई व्यावसायिक र दिगो बनाउन पशु बीमा, नश्ल सुधार, पशु आहार वितरण र सदस्य विस्तारलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *