सफल सिद्धार्थ एकेडेमीको ३२औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, शैक्षिक उत्कृष्टतासँगै सांगीतिक र भावनात्मक रंग

एलएन गच्छदार , चैत्र २८ गते 

सुन्दरहरैंचा (मोरङ) — मोरङको सुन्दरहरैंचा–५ स्थित सफल सिद्धार्थ एकेडेमीमा ३२औं अभिभावक दिवस तथा वार्षिकोत्सव अत्यन्तै भव्य, उत्साहपूर्ण र भावनात्मक वातावरणमा सम्पन्न भएको छ। विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रमुख आकर्षण पूर्व प्राथमिक तहका बालबालिकाहरूको दीक्षान्त समारोह बनेको थियो। स-साना नानीबाबुहरूलाई दीक्षित गरिँदै गर्दा अभिभावकहरू भावुक बनेका थिए भने उनीहरूको अनुहारमा गर्व र खुशी स्पष्ट देखिन्थ्यो। विद्यालयले नर्सरीदेखि यूकेजी तहलाई बालविकास शिक्षाको आधार र कक्षा १ लाई औपचारिक शिक्षाको पहिलो खुड्किलोका रूपमा लिँदै आएको सन्दर्भमा यस्तो ग्राजुएसन कार्यक्रमले बालबालिकामा शिक्षाप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै उनीहरूको चौतर्फी विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

यसै अवसरमा वार्षिक परीक्षाको नतिजा प्रकाशन, उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण तथा विभिन्न विधामा सम्मान कार्यक्रम सम्पन्न गरिएको थियो। उत्कृष्ट विद्यार्थी, शिक्षक तथा ‘स्कुल आइडल’ हरूलाई नगद पुरस्कार, प्रमाणपत्र र छात्रवृत्ति प्रदान गरिनुका साथै समाजमा योगदान पुर्‍याएका जेष्ठ नागरिकलाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले विद्यालयले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै अनुशासन, मेहनत र सकारात्मक सोचका साथ अघि बढ्न विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो। विशेष अतिथि प्याब्सन नगर अध्यक्ष दीपक क्षेत्रीले निजी विद्यालयहरूको भूमिका राष्ट्र निर्माणमा महत्वपूर्ण रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षामा थप सुदृढता आवश्यक रहेको धारणा राख्नुभयो।

विद्यालयका अध्यक्ष लेखु प्रसाद ढकालले संस्थाको स्थापना देखि हालसम्मको यात्राबारे चर्चा गर्दै नयाँ व्यवस्थापन टिम आएपछि विद्यालय अझ गतिशील बनेको उल्लेख गर्नुभयो। विद्यालय सञ्चालक गोविन्द कार्कीले शैक्षिक गुणस्तर, अनुशासन र समग्र व्यक्तित्व विकासमा संस्था निरन्तर अग्रसर रहने बताउँदै अभिभावकहरूको विश्वास नै सफलताको मुख्य आधार भएको धारणा राख्नुभयो।

कार्यक्रममा चर्चित गायक प्रशान्त सिवाकोटीको साङ्गीतिक प्रस्तुतीले विशेष आकर्षण थपेको थियो। उनका “कहिले सतायो भोकैले, कहिले च्याप्यो रोगैले” जस्ता मर्मस्पर्शी गीतले दर्शकलाई भावुक बनायो भने “रैया चाँदीको…” र “न्याउली बनैमा…” जस्ता गीतमा सहभागीहरू झुम्न बाध्य भए। सिवाकोटीको ऊर्जा, स्वर र दर्शकसँगको सशक्त अन्तर्क्रियाले कार्यक्रम स्थललाई उत्सवमय बनाएको थियो।

विद्यालयका प्रिन्सिपल राजन लम्सालले विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै विद्यार्थीको क्षमता विकासमा निरन्तर काम गरिरहेको बताउँदै पठनपाठनसँगै सह–पाठ्यक्रम (CCA) तथा अतिरिक्त क्रियाकलाप (ECA) लाई प्राथमिकता दिइएको जानकारी दिनुभयो। उहाँका अनुसार विद्यार्थीलाई विभिन्न क्लबमार्फत सक्रिय बनाउँदै उनीहरूको प्रतिभा प्रस्फुटनमा जोड दिइएको छ।

सो अबसरमा प्याब्सन नगर अध्यक्ष दिपक क्षेत्री, बल सदन एकेडेमीका संचालक तथा  प्रबन्ध निर्देशक सुर्य दंगाल,  राधेश्याम सेवा ट्रष्ट गौशाला बृद्धावनका संस्थापक श्रीश्रीश्री १०८  महामण्लेडलेश्वर  दिनबन्धु शास्त्री महाराज लगायतको उपास्थिति रहेको थियो। .

भौतिक पूर्वाधार तथा प्रविधिमैत्री वातावरणका हिसाबले पनि विद्यालय अगाडि रहेको छ। स्मार्ट बोर्डमार्फत पठनपाठन, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला लगायतका सुविधा उपलब्ध रहेको विद्यालयमा हाल पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने ३८ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन्।

पछिल्लो समय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता तथा ‘सफल सिद्धार्थ रन’ जस्ता कार्यक्रममार्फत विद्यालयले नगरदेखि राष्ट्रिय स्तरसम्म आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ। विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट नतिजा हासिल गर्दै अभिभावक तथा विद्यार्थीको पहिलो रोजाइ बन्न सफल विद्यालयको यो वार्षिकोत्सवले शैक्षिक उत्कृष्टता, सांस्कृतिक समृद्धि र सामुदायिक एकताको सशक्त सन्देश प्रवाह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *