चार वर्षदेखि रोगले थलिएका ६ वर्षीय पर्वतको उपचारमा डा. सुनिल शर्माको पहल, निःशुल्क उपचारदेखि खाना–बस्नेसम्मको व्यवस्था

काठमाडौं । कालिकोटको खाँडाचक्र नगरपालिका–२ का चार वर्षदेखि बिरामी रहेका ६ वर्षीय पर्वत परियार उपचारको अभावमा पीडित हुँदै आएका थिए। आर्थिक अवस्था कमजोर भएकै कारण थप उपचारका लागि काठमाडौंसम्म आउन नसकेको उनको परिवारलाई नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेज (केएमसी) का सञ्चालक डा. सुनिल शर्माले सहयोगको हात बढाएका छन्।

पर्वतलाई लामो समयदेखि पाइल्सको समस्या रहेको र जिल्ला अस्पतालमा उपचारका क्रममा अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान चिकित्सकले सुझाव दिएका थिए। चिकित्सकले क्यान्सरको आशंकासमेत गरेपछि थप परीक्षण र उपचार आवश्यक देखिएको थियो। तर, अपांगता भएका उनका बुबा सेरे दमाई र गिट्टी कुटेर परिवार पाल्दै आएकी आमा पार्वतीसँग छोरालाई सुर्खेतसम्म लैजाने खर्चसमेत थिएन।

पर्वतको अवस्थाबारे पत्रकार पुष्प भट्टराईले प्रेम शाहीलाई जानकारी गराएका थिए। शाहीले आफ्ना बाल्यकालदेखिका साथी तथा मीत डा. सुनिल शर्मालाई पर्वतको अवस्थाबारे जानकारी गराएपछि शर्माले परिवारसँग भिडियो कलमार्फत प्रत्यक्ष कुराकानी गरेका थिए।

कुराकानीका क्रममा शर्माले पर्वतको स्वास्थ्य अवस्था, परिवारको आर्थिक स्थिति तथा बसोबासको अवस्थाबारे जानकारी लिए। परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको थाहा पाएपछि उनले पर्वतलाई तत्काल काठमाडौं ल्याएर उपचार गराउन आग्रह गरे।

शर्माले पर्वतको काठमाडौं मेडिकल कलेजमा आवश्यक उपचार निःशुल्क गर्ने, अस्पतालमै खाना उपलब्ध गराउने तथा उपचार पूरा नहुँदासम्म आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। परिवारसँग काठमाडौं आउने यात्राखर्चसमेत नभएको जानकारी पाएपछि उनले यात्राको खर्चसमेत आफैं व्यहोर्ने बताए।

त्यसपछि सेरे र पार्वती आफ्ना दुई छोरासहित पर्वतलाई लिएर मान्मबाट सुर्खेत हुँदै काठमाडौं आए। दुई दिनको कठिन यात्रापछि काठमाडौं आइपुगेका उनीहरूलाई केएमसीको एम्बुलेन्सले लिएर अस्पताल पुर्‍याएको बताइएको छ।

पहिलोपटक काठमाडौं आएका परिवारलाई भेट्न डा. शर्मा आफैं अस्पताल पुगेका थिए। उनले यात्रामा कुनै समस्या भए–नभएको जानकारी लिनुका साथै पर्वतको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग समेत छलफल गरे।

त्यसपछि पर्वतलाई काठमाडौं मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना गरी आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार प्रक्रिया अघि बढाइएको छ। डा. शर्माले चिकित्सकहरूलाई आवश्यक जाँच र उपचार तत्काल सुरु गर्न निर्देशन दिएका छन्।

पर्वतलाई क्यान्सर भएको हो वा होइन भन्ने विषय भने आवश्यक स्वास्थ्य परीक्षणपछि मात्रै यकिन हुने चिकित्सकहरूले बताएका छन्। अहिले उनको उपचार प्रक्रिया अघि बढिरहेको छ।

चार वर्षदेखि उपचारको अभावमा पीडा सहँदै आएका पर्वतका लागि काठमाडौंसम्मको यात्रा, अस्पताल भर्ना र उपचारको व्यवस्था भएपछि परिवारमा नयाँ आशा पलाएको छ। छोरालाई अस्पतालसम्म लैजानसमेत खर्च जुटाउन नसकेको परिवारले अहिले उपचार पाउने अवस्था बनेको छ।

यसैबीच, डा. शर्माले आफूले पढेको मान्मस्थित विद्यालयको अवस्थाबारे समेत चासो व्यक्त गर्दै विद्यालयको नयाँ भवन निर्माणमा सहयोग गर्ने इच्छा व्यक्त गरेको परिवारसँगको कुराकानीमा बताएका छन्।

पर्वतको वास्तविक स्वास्थ्य समस्या र उपचारको अवस्था थप परीक्षणपछि स्पष्ट हुने भए पनि आर्थिक अभावका कारण उपचारबाट वञ्चित बालकले समयमै उपचार पाउने वातावरण बनेको परिवारले राहत महसुस गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *