मध्यरातमा गृहमन्त्री गुरुङको अस्पताल भ्रमण: डा. शर्मालाई भावुक अंकमाल, असल कामको उच्च सम्मान
काठमाडौं — गृहमन्त्री सुदन गुरुङले बिहीबार मध्यरातमा काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल पुगेर जेन्जी आन्दोलनका घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्। सो क्रममा उनले अस्पतालका सञ्चालक डा. सुनील शर्मालाई भावुक हुँदै अंकमाल गर्दै धन्यवाद र बधाई दिएका छन्।
गृहमन्त्री गुरुङले अस्पताल पुग्नु अघि नै डा. शर्मालाई फोन गरी घाइतेहरूको उपचारबारे जानकारी लिएका थिए। त्यसपछि उनी स्वयम् अस्पताल पुगेर उपचाररत बिरामीहरूसँग भेटघाट गरेका थिए। केएमसीमा हालसम्म १५२ जना घाइतेको निःशुल्क उपचार गरिएको जानकारी पाएपछि गृहमन्त्री विशेष रूपमा प्रभावित भएका थिए।
घाइतेहरूको अवस्था र अस्पतालले दिएको सेवा देखेर गृहमन्त्री गुरुङ भावुक बनेका थिए। उनले आईसीयूमै डा. शर्मालाई अंकमाल गर्दै यस्तो मानवीय सेवाका लागि धन्यवाद व्यक्त गरे। “यस्तो सत्कर्मका लागि तपाईंलाई बधाई तथा धन्यवाद,” उनले भने।
गृहमन्त्रीले घाइते तथा उनीहरूका आफन्तसँग पनि भेट गर्दै उपचारबारे जानकारी लिएका थिए। उनले अस्पतालले गरेको सेवाको खुलेर प्रशंसा गर्दै यस्तो कार्यले समाजमा सकारात्मक सन्देश दिने बताएका छन्।
डा. सुनील शर्माले जेन्जी आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने घोषणा सुरुमै गरेका थिए। केएमसीसँगै यसको भगिनी संस्था नोबल अस्पतालमार्फत पनि घाइतेहरूको उपचार गरिएको थियो। हाल पनि केही घाइतेहरू अस्पतालमै उपचाररत छन्, जसमा सिन्धुपाल्चोकका दौलत थापा १३३ दिनदेखि उपचारमा रहेका छन्।
गृहमन्त्री गुरुङले अस्पतालबाट बाहिरिँदै पुनः डा. शर्मालाई धन्यवाद दिएका थिए। उनले सरकारले सुशासन कायम गर्न र असल कामको सम्मान तथा गलत कार्यमा संलग्नलाई कारबाही गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे।
यो घटनालाई असल कार्यको सम्मान र जिम्मेवार शासनको सन्देशका रूपमा हेरिएको छ।
