प्राकृतिक सौन्दर्यबीच सिकाइको आनन्द : रोजाई मन्टेश्वरीमा बालमैत्री वातावरण

एलएन गच्छदार / सुन्दरहरैंचा 

मोरङको सुन्दरहरैंचा नगरपालिका–१० मा अवस्थित रोजाई मन्टेश्वरी केवल एक विद्यालय होइन, बालबालिकाको स्नेह, सिकाइ र संवेदनाको सुन्दर संसार बनेको छ। हरियालीले घेरिएको परिसर, रंगीचंगी फूलबिरुवा र शान्त वातावरणले यहाँ पुग्ने जो–कोहीलाई क्षणभरमै आकर्षित गर्छ। प्रकृतिसँग नजिक रहँदै सिक्ने अवसर पाएका साना नानीहरूका लागि यो स्थान साँच्चिकै दोस्रो घरजस्तो अनुभूति दिलाउने थलो बनेको छ।

विद्यालयको संरचना र सजावटमा कृत्रिमता भन्दा प्राकृतिकपनको सुगन्ध पाइन्छ। यही कारण, यहाँ आउने बालबालिका डर होइन, अपनत्वको अनुभूति गर्दै दिन बिताउँछन्। शिक्षक, कर्मचारी तथा व्यवस्थापनको मृदुभाषी र संस्कारयुक्त व्यवहारले अभिभावकहरूको भरोसा झन् गहिरो बनाएको छ। प्रिन्सिपल मंजु प्रज्ञा आचार्य भन्छिन्, “हामीले बालबालिकालाई विद्यालय होइन, घरजस्तै अनुभूति दिने प्रयास गरेका छौं।”

प्ले ग्रुपदेखि कक्षा २ सम्म अध्ययन हुने यस मन्टेश्वरीमा सिकाइ किताबमा मात्र सीमित छैन। बालबालिकाको रुचि, भावना र मनोविज्ञानलाई बुझेर उनीहरूलाई खेल्दै, गाउँदै र रमाउँदै सिकाइ गराइन्छ। मनोवैज्ञानिक खेल विधि, सिर्जनात्मक गतिविधि र व्यवहारिक अभ्यासले यहाँका कक्षाहरूलाई जीव्त र आनन्दमय बनाएको छ। सफा र व्यवस्थित कक्षा कोठामा बस्दा बालबालिकाको अनुहारमा देखिने चमक आफैंमा प्रेरणादायी देखिन्छ।

विद्यालयमा साना बालबालिकासँग शिक्षकहरूले बिताउने आत्मीय समय विशेष हुन्छ। खेल, गीत–संगीत र रमाइला क्रियाकलापबीच उनीहरू सिकाइको यात्रामा अघि बढिरहेका छन्। नानीहरूको हाँसो, चहलपहल र उत्साहले विद्यालय परिसर सधैं जीवन्त देखिन्छ।

यसैबीच, मन्टेश्वरीका प्रबन्ध निर्देशक महेश आचार्यको समर्पण झन् प्रेरणादायी छ। स्कुल बिदा भएपछि पनि आफैं सरसफाइमा जुट्ने उनको बानीले “विद्यालय हाम्रो साझा घर हो” भन्ने सन्देश दिन्छ। उनको कर्मले अरूलाई पनि जिम्मेवारी र माया सिकाइरहेको छ।

शिक्षकहरू बालमैत्री वातावरण निर्माणमा समर्पित छन्। उनीहरू बालबालिकाको बौद्धिक मात्र होइन, सामाजिक र भावनात्मक विकासमा समेत उत्तिकै ध्यान दिन्छन्। यही समग्र दृष्टिकोणले बालबालिकामा आत्मविश्वास बढाइरहेको छ र विद्यालयप्रतिको आकर्षण दिनानुदिन मजबुत बन्दै गएको छ।

प्रकृति, माया र गुणस्तरीय शिक्षाको अद्भुत संगम बनेको रोजाई मन्टेश्वरी आज साना नानीहरूको उज्ज्वल भविष्यको भरोसिलो आधारका रूपमा अघि बढिरहेको छ—जहाँ हरेक मुस्कानसँगै एउटा सुन्दर भविष्य आकार लिँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *