धनकुटामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु
धनकुटाको महालक्ष्मी नगरपालिकामा अवैध भरुवा बन्दुक निरीक्षण गर्ने क्रममा पड्किँदा एक जनाको मृत्यु भएको छ। गम्भीर घाइते भएका ४८ वर्षीय रामकृष्ण थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
महालक्ष्मी नगरपालिका–९ निवासी रामकृष्ण थापा शुक्रबार साँझ आफ्नै घरमा रहेको भरुवा बन्दुक भर्ने तथा परीक्षण गर्ने क्रममा दुर्घटनामा परेका थिए। प्रहरीका अनुसार बन्दुक नपड्किएपछि उनले त्यसलाई फुक्ने प्रयास गर्दा अचानक पड्किएको थियो।
बन्दुकबाट निस्किएको छर्रा चिउँडोमा लागेर गम्भीर घाइते भएका थापालाई तत्काल जिल्ला अस्पताल धनकुटा लगिएको थियो। अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो।
धरान लैजाने क्रममा उनको स्वास्थ्य अवस्था थप जटिल बनेपछि पुनः जिल्ला अस्पताल धनकुटा फर्काइएको थियो। अस्पतालमा उपचारकै क्रममा राति करिब ९ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार बन्दुक पड्किँदा थापाको मुखको भाग गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो। अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
घटनामा प्रयोग भएको अवैध भरुवा बन्दुकबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।
