वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यममा जोड्दै छथर गाउँपालिका
तेह्रथुमको छथर गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप, अनुभव र लगानीलाई स्थानीय उत्पादन तथा स्वरोजगारसँग जोड्ने उद्देश्यले उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ। विदेशमा हासिल गरेको ज्ञान र अनुभवलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा उपयोग गरी रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको हो।
‘स्वदेशमै अवसर, समृद्धिको आधार’ भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रममा सहभागी युवालाई व्यवसाय योजना निर्माण, उद्यम व्यवस्थापन, बजार अध्ययन, वित्तीय व्यवस्थापन तथा स्थानीय स्रोत–साधनमा आधारित व्यवसाय सञ्चालनबारे प्रशिक्षण दिइएको छ।
गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बुले वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप र अनुभव स्थानीय विकासका लागि महत्वपूर्ण सम्पत्ति भएको बताउँदै उनीहरूलाई आवश्यक सहयोग र सहकार्य गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताए। रोजगार शाखा संयोजक सन्दीप ढकालका अनुसार सहभागी युवाको सीप, अनुभव र रुचिका आधारमा उपयुक्त उद्यमसँग जोड्ने, परामर्श सेवा उपलब्ध गराउने तथा आवश्यक सहजीकरण गर्ने योजना बनाइएको छ।
कार्यक्रममा सहभागी अधिकांश युवाले विदेशमा रहँदा हासिल गरेको सीप र अनुभव स्वदेशमै प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कतिपयले कृषि, पशुपालन, अलैँची तथा फलफूल खेतीमा लगानी गर्ने योजना सुनाएका छन् भने केहीले साना उद्योग तथा सेवा व्यवसाय सञ्चालनमा रुचि देखाएका छन्। सहभागी युवा विकास कार्कीले स्थानीय सरकारले आवश्यक सीप, प्रविधि र अनुदान उपलब्ध गराए गाउँमै स्वरोजगार बन्नुका साथै अन्यलाई समेत रोजगारी दिन सकिने बताए।
कृषि उत्पादन, पशुपालन, अलैँची खेती, फलफूल उत्पादन तथा ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छथर क्षेत्रमा यस्ता कार्यक्रमले स्थानीयस्तरमै रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने विश्वास गरिएको छ। गाउँपालिकाले विदेशबाट फर्किएका युवालाई उत्पादनमुखी क्षेत्रमा आकर्षित गर्दै आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।
