कराइभित्र लुकाइएको साढे ५४ लाख रुपैयाँसहित विमानस्थलबाट एक व्यक्ति पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कराइभित्र लुकाएर विदेश लैजान लागिएको साढे ५४ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको नेपाली तथा विदेशी मुद्रासहित एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका–१ घर भई हाल काठमाडौंको बनस्थली बस्दै आएका ५० वर्षीय कमल नारायण विश्वास रहेका छन्। उनी मलेसियाको क्वालालम्पुर जान लागेका बेला सुरक्षा जाँचका क्रममा शंकास्पद सामान फेला परेपछि नियन्त्रणमा लिइएका हुन्।
विमानस्थल प्रहरीका अनुसार विश्वास सोमबार राति बटिक एयरको उडानमार्फत भिजिट भिसामा मलेसिया जान लागेका थिए। उनले बोकेको कालो लगेजभित्र रहेको फलामको कराइमा लुकाएर राखिएको नेपाली तथा विदेशी मुद्रा बरामद गरिएको हो। बरामद रकमको कुल मूल्य ५४ लाख ७१ हजार रुपैयाँ बराबर रहेको बताइएको छ।
प्रहरीले राहदानी तथा सम्बन्धित कागजात परीक्षण गर्दा उक्त रकम विदेश लैजान आवश्यक वैधानिक घोषणा (डिक्लेरेशन) नगरिएको पाइएको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा रकम अवैध रूपमा विदेश लैजान खोजिएको आशंका गरिएको छ।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विश्वासले यसअघि विभिन्न समयमा २६ पटक विदेश यात्रा गरेको विवरणसमेत खुलेको छ।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि विश्वासलाई राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ। 
