शिक्षा सन्देशमा अन्तर्राष्ट्रिय डिप्लोमा : बेलबारीबाटै विश्वस्तरीय होटल शिक्षाको सुरुवात

एलएन गच्छदार / सुन्दरहरैंचा

मोरङको   बेलबारी–२ स्थित शिक्षा संदेश इंगलिस स्कुलले अब अन्तर्राष्ट्रिय स्तरको प्राविधिक शिक्षा सञ्चालन गर्ने भएको छ। तीन दशकदेखि पूर्वी मोरङमा विद्यालय शिक्षाको भरोसायोग्य संस्थाका रूपमा स्थापित शिक्षा सन्देशले मलेसियाको प्रतिष्ठित लिंकन विश्वविद्यालय कलेज अन्तर्गत “डिप्लोमा इन होटल म्यानेजमेन्ट (DIM)” कोर्ष सञ्चालनको तयारी थालेपछि बेलबारीको शैक्षिक क्षेत्रमा नयाँ बहस सुरु भएको छ।

विद्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै मलेसियास्थित युरोस्किल्स टेक्निकल एण्ड भोकेशनल एकेडेमी मार्फत सम्बन्धन प्राप्त गरी यसै शैक्षिक सत्रदेखि कार्यक्रम सञ्चालनको अन्तिम तयारी पूरा भएको जनाएको हो। विद्यालय प्रशासनका अनुसार यो कोर्ष पूर्वी नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय विश्वविद्यालयको मान्यतासहित सञ्चालन हुन लागेको दाबी गरिएको छ।

वि.सं. २०५० सालमा स्थापना भएको शिक्षा सन्देश इङ्ग्लिस स्कुल बेलबारी नगरपालिकामा पहिलो पटक प्लस टु तह सञ्चालन गर्ने शैक्षिक संस्थामध्ये एक हो। हाल कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, बिजनेस स्टडी, कानुन तथा ट्राभल एण्ड टुरिजम जस्ता विषय पढाइँदै आएका छन्। विद्यालयमा अहिले १ हजार ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

विद्यालयका प्रिन्सिपल राजेश खत्रीका अनुसार अहिलेको शिक्षा प्रणालीलाई समयअनुसार व्यावसायिक र अन्तर्राष्ट्रिय मापदण्डसँग जोड्नु आवश्यक भएकाले होटल म्यानेजमेन्ट डिप्लोमा सञ्चालन गर्न लागिएको हो। “विद्यार्थीलाई विदेश नगई अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने लक्ष्यका साथ कार्यक्रम ल्याएका हौँ,” उनले भने।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपाल बस्नेतले यो कार्यक्रम विद्यालयका लागि मात्र नभई समग्र बेलबारी क्षेत्रकै शैक्षिक विकासको महत्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार होटल तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै स्थानीय विद्यार्थीलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने उद्देश्य विद्यालयले राखेको छ।

पछिल्लो समय नेपालमा होटल, पर्यटन र आतिथ्य क्षेत्र तीव्र रूपमा विस्तार भइरहेका बेला व्यावसायिक तथा सीपमूलक शिक्षाको आवश्यकता झन् बढ्दै गएको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै शिक्षा सन्देशले सुरु गर्न लागेको डिप्लोमा कार्यक्रमले पूर्वी नेपालका विद्यार्थीलाई नयाँ विकल्प दिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *