कोशीमा ट्राफिक सुधार अभियान : सडक दुर्घटना न्यूनीकरणका लागि संयुक्त प्रतिबद्धता
सुनसरी — कोशी प्रदेशमा बढ्दो सवारी चाप, ट्राफिक अव्यवस्था र सडक दुर्घटनालाई नियन्त्रण गर्ने उद्देश्यले आयोजित ‘कोशी प्रदेश ट्राफिक व्यवस्थापन सम्बन्धी प्रादेशिक गोष्ठी’ इटहरीमा सम्पन्न भएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा मंगलबार भएको एकदिने गोष्ठीमा सडक सुरक्षा, ट्राफिक व्यवस्थापनका चुनौती तथा प्रविधिमैत्री समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा विभिन्न सरकारी निकाय, सुरक्षा निकाय, यातायात व्यवसायी तथा सरोकारवालाहरूले सुरक्षित सडक प्रणाली निर्माणमा संयुक्त प्रतिबद्धता जनाएका छन्।
गोष्ठी उद्घाटन गर्दै कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरे ले लागूऔषध नियन्त्रण प्रदेशकै प्रमुख चुनौतीका रूपमा देखिएको बताएका छन्। उनले विराटनगरबाट सुरु गरिएको लागूऔषध नियन्त्रण अभियान क्रमशः प्रदेशका १४ वटै जिल्लामा विस्तार गरिने जानकारी दिए।
उनले प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै सडक विभाग, यातायात व्यवसायी, स्थानीय तह, नागरिक समाज तथा अन्य सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताए।
कार्यक्रममा इन्जिनियर विवेक सिंह ले आधुनिक प्रविधिको प्रयोगमार्फत ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने उपायबारे प्रस्तुतीकरण गरेका थिए। त्यसैगरी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्सालका प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारी ले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।
गोष्ठीमा सहभागी निकायहरूले दुर्घटना सम्भावित ‘ब्ल्याक स्पट’ पहिचान, सडक संकेत तथा रोड मार्किङ सुधार, हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग, मादक तथा लागू पदार्थ सेवन गरेर सवारी चलाउने कार्य नियन्त्रण तथा सुरक्षित सार्वजनिक यातायात प्रवर्द्धनमा विशेष जोड दिने निर्णय गरेका छन्।
कार्यक्रममा आन्तरिक मामिला मन्त्रालय, प्रदेश प्रहरी कार्यालय धरान, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, जिल्ला प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालय, सडक विभाग, बीमा संस्थान, यातायात व्यवसायी, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।
