ब्राइट फ्युचर स्कुलको ३४औँ अभिभावक दिवस तथा शैक्षिक प्रदर्शनी सम्पन्न, रचना रिमालको प्रस्तुतीमा सबै झुमे
एलएन गच्छदार , सुन्दरहरैंचा
मोरङको सुन्दरहरैँचा–८ स्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलमा आयोजित ३४औँ अभिभावक दिवस तथा शैक्षिक प्रदर्शनी बिहीबार समापन भएको छ। दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा विविध शैक्षिक, प्रविधिमैत्री तथा सांस्कृतिक गतिविधिहरू प्रस्तुत गरिएको थियो।
कार्यक्रमको पहिलो दिन रोबोटमार्फत उद्घाटन गरिएको थियो, जसले विद्यालयमा प्रविधिमैत्री शिक्षाको अभ्यास र नवप्रविधिप्रतिको आकर्षण झल्काएको थियो। समापन समारोहमा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, सांस्कृतिक नृत्य, गायन तथा सन्देशमूलक नाटक प्रस्तुत गरेका थिए।
समापन समारोहको मुख्य आकर्षण चर्चित गायिका रचना रिमालको सांगीतिक प्रस्तुति रह्यो। उनले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा कार्यक्रममा उपस्थित विद्यार्थी, अभिभावक तथा अतिथिहरू उत्साहका साथ झुमेका थिए। उनको प्रस्तुतीले कार्यक्रमलाई अझ रोमाञ्चक र उल्लासमय बनाएको थियो।
विद्यालयका संस्थापक प्रिन्सिपल तथा प्याब्सन केन्द्रीय कार्यसमितिका उपाध्यक्ष टिकाराम ढकालले यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न सहयोग पुग्नुका साथै विद्यालय, शिक्षक र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउने बताए। उनले आधुनिक प्रविधिसँगै व्यवहारिक र सिर्जनात्मक शिक्षामा विद्यालयले विशेष जोड दिँदै आएको उल्लेख गरे।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड विराटनगरका कार्यालय प्रमुख प्रकाशकुमार खरेल, ब्राइट फ्युचर एजुकेशनल फाउण्डेशन प्रा.लि.का अध्यक्ष भोलेश्वर दुलाल, एन–प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष कमल खनाल, सुन्दरहरैँचा नगरपालिकाका निवर्तमान मेयर शिवप्रसाद ढकाल लगायतले विद्यालयको प्रगति र सफलताको कामना व्यक्त गरेका थिए।
दोस्रो दिनको अवसरमा प्याब्सन मोरङका जिल्ला सह–सचिव दिपेन राई, सदस्य रुद्र थापा तथा नगर प्याब्सन अध्यक्ष दिपक क्षेत्री लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष थानेश्वर ढकाल, ब्राइट फ्युचर स्कुलका सञ्चालकहरू गोपाल कार्की, गोपालप्रसाद ढकाल, कृष्णप्रसाद ढकाल तथा प्याब्सन बेलबारीका अध्यक्ष भगवतीप्रसाद घिमिरे लगायत शिक्षा क्षेत्रमा आबद्ध व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार, मेडल तथा ट्रफी प्रदान गरी सम्मान गरिएको थियो। साथै शैक्षिक प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका विज्ञानका नमुना, प्रोजेक्ट, हस्तकला तथा अन्य शैक्षिक सामग्री प्रदर्शन गरिएको थियो। विद्यालयका अनुसार कार्यक्रमले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता विकास तथा अभिभावक–विद्यालय सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको जनाएको छ।
