कमल गाउँपालिकामा कामधेनुको सदस्य विस्तार तथा किसान हितका कार्यक्रमबारे अन्तरक्रिया
कमल गाउँ (झापा) : दुग्ध उत्पादन, खरिद–बिक्री, वितरण तथा पशु सेवाको क्षेत्रमा विगत २७ वर्षदेखि सक्रिय रहेको कामधेनु दुग्ध उत्पादक सहकारी संस्था ले कमल गाउँपालिकामा सदस्य विस्तार गर्दै किसान हितका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।
कार्यक्रममा बोल्दै कमल गाउँपालिकाका पूर्व उपाध्यक्ष बेनु प्रसाद शिवाकोटी ले कमल गाउँपालिकाबाट दैनिक करिब दुई हजार लिटर दूध संकलन भइरहेको जानकारी दिँदै गाउँपालिका, कामधेनु सहकारी र किसानबीचको सहकार्य अझ बलियो भए किसानको आर्थिक समृद्धि सम्भव हुने धारणा व्यक्त गरे। उनले “तीन पक्षीय सहकार्य—कमल गाउँपालिका, कामधेनु र किसान—को समन्वयबाट कृषि तथा पशुपालन क्षेत्रलाई थप सुदृढ बनाउन सकिने” बताए।
कामधेनुका अध्यक्ष यादव ढकाल ले सहकारीमार्फत हाल ११ हजारभन्दा बढी किसानबाट दूध संकलन भइरहेको जानकारी दिँदै किसानको दूधको भुक्तानी कहिल्यै ढिलो नहुने प्रतिबद्धता व्यक्त गरे। कमल गाउँपालिकाका ९ वटा समूहबाट नियमित दूध संकलन भइरहेको उनले बताए।
सहकारीले १९ जना पशु प्राविधिक परिचालन गरी दशैं–तिहारजस्ता पर्वमा समेत किसानको सेवामा अहोरात्र खटिरहेको जनाएको छ। किसानको सामाजिक सुरक्षालाई ध्यानमा राख्दै एक लाख रुपैयाँ बराबरको किसान बीमा तथा मृत्यु राहत कोषको व्यवस्था गरिएको छ भने पशु बीमाको व्यवस्था छुट्टै गरिएको जानकारी दिइयो।
आर्थिक वर्ष २०८३/०८४ मा धनकुटामा गाई स्रोत केन्द्र स्थापना गर्ने योजना रहेको सहकारीले जनाएको छ। उक्त केन्द्रमा उन्नत गाई राखिने तथा किसानलाई बिना धितो ऋण सुविधामार्फत गाई खरिद गर्न सहजीकरण गरिने कार्यक्रमसमेत अघि सारिएको छ।
पशुपालनलाई आधुनिक र व्यवसायिक बनाउन साइलेज खुवाउने अभियानलाई पनि कामधेनुले प्राथमिकताका साथ अघि बढाउने जनाएको छ। किसानको उत्पादन लागत घटाउने र दूध उत्पादन बढाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिने बताइएको छ।
कार्यक्रमको सहजीकरण युवराज पाठकले गरेका थिए।
