ओरिजिन इङ्ग्लिस स्कुलको अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

एलएन गच्छदार / सुन्दरहरैंचा 

मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा रहेको ओरिजिन इङ्ग्लिस स्कुलमा आयोजित अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुन्दरहरैँचा नगर शिक्षा समन्वय समितिका संयोजक तथा सोही वडाका अध्यक्ष रोशनप्रसाद ढकाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले सुन्दरहरैँचा नगर शिक्षा क्षेत्रको महत्वपूर्ण केन्द्र बन्दै गएको बताउनुभयो। शिक्षाको गुणस्तरका कारण विभिन्न स्थानबाट यहाँ बसाइँ सर्नेहरूको संख्या बढ्दै गएको उल्लेख गर्दै उहाँले विद्यालयको सफल कार्यक्रमका लागि शुभकामना व्यक्त गर्नुभयो।

त्यसैगरी प्याब्सन सुन्दरहरैँचा नगर अध्यक्ष दिपक क्षेत्रीले विद्यालय सञ्चालकहरू अहोरात्र विद्यालय व्यवस्थापनमा खट्दै शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन अग्रसर रहेको बताउनुभयो। अहिलेको परिवर्तित समयमा विद्यार्थीलाई केवल अंकमा सीमित नराखी संस्कार प्रविधिसहितको शिक्षा प्रदान गर्न विद्यालयहरू प्रतिबद्ध भएर लागेको उहाँको भनाइ थियो।

कार्यक्रमका अध्यक्ष गोविन्द बहादुर कार्कीले विद्यालयले विद्यार्थीको समग्र विकासलाई प्राथमिकता दिँदै शैक्षिक गुणस्तर अभिवृद्धिमा निरन्तर प्रयास गरिरहेको बताउनुभयो। अभिभावक, शिक्षक विद्यालयबीचको सहकार्यले मात्रै विद्यार्थीको भविष्य उज्यालो बनाउन सकिने उल्लेख गर्दै उहाँले अभिभावक दिवसले आपसी सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिक बृद्धआमा–बुवालाई सम्मान गरिएको थियो, जसले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै सबैको ध्यान आकर्षित गरेको थियो। साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई स्टेशनरी, मेडल तथा ट्रफीसहित पुरस्कार वितरण गरिएको थियो। सामाजिक सन्देश बोकेको नाटक मञ्चनले विद्यार्थी, अभिभावक तथा शिक्षकलाई सचेतना प्रदान गरेको आयोजकले जनाएको छ।

विद्यालयका प्रिन्सिपल रामचन्द्र श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शैक्षिक तथा अतिरिक्त गतिविधिहरूलाई प्राथमिकता दिएको बताउनुभयो।

कार्यक्रमका क्रममा अभिभावकहरूबीच विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरी उत्कृष्ट अभिभावकलाई पुरस्कृत गरिएको थियो। त्यस्तै विद्यार्थीहरूको नृत्य, गायन, हस्तकला तथा चित्रकला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने आइडल विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। शिक्षक–अभिभावक नृत्य, तेक्वान्दो प्रस्तुति, पूर्व विद्यालय सञ्चालक तथा कर्मचारी सम्मान, शैक्षिक प्रदर्शनी तथा विभिन्न सांस्कृतिक प्रस्तुति कार्यक्रमका आकर्षण बनेका थिए।

नृत्य विधातर्फ आयोजित ओरिजिन डान्सिङ आइडल’ प्रतियोगितामा स्नेहा मादी विजेता घोषित भएकी छन्। नम्रता निरौला प्रथम रनरअप तथा लक्ष्मी बराल द्वितीय रनरअप बनेका छन् भने किन्जल श्रेष्ठले सान्त्वना स्थान हासिल गरेका छन्। विजेता तथा उपविजेताहरूलाई क्रमशः नगद हजार, हजार, हजार हजार सय रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति तथा स्टलसहितको शैक्षिक प्रदर्शनी समेत आयोजना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *