रेडस्टार मा.वि. जुनियर ब्लकमा नाटक महोत्सव सम्पन्न

पथरी शनिश्चरे समाचारदाता,पुस-४ गते
आज ४ पौष २०८२ का दिन रेडस्टार माध्यमिक विद्यालयको जुनियर ब्लकमा कक्षा १, २ र ३ का विद्यार्थीहरूको सहभागितामा नाटक महोत्सव सम्पन्न भएको छ। यो महोत्सव रेडस्टारको दोस्रो चरणको नाटक महोत्सव हो।

महोत्सवअन्तर्गत कक्षा १ का विद्यार्थीहरूले टंक चैलागाईको लेखनमा आधारित ‘छट्टु स्याल’, कक्षा २ का विद्यार्थीहरूले जीवन बरालको लेखनमा आधारित ‘मेरो कथा’ तथा कक्षा ३ का विद्यार्थीहरूले सुमन कुईकेल बरालको लेखनमा आधारित ‘कमिला र फटयांग्रो’ नाटक मञ्चन गरेका थिए।

सबै नाटकहरू तयार पार्न सुमन कुईकेल बराल र जीवन बरालले सहजीकरण गर्नुभएको थियो भने अभिनय प्रशिक्षणको जिम्मेवारी जीवन बरालले सम्हाल्नुभएको थियो। बालमैत्री विषयवस्तु, सन्देशमूलक कथावस्तु र विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुतिले दर्शकको मन जित्न सफल भएका थिए।

यसअघि सम्पन्न पहिलो चरणमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूले पाँच वटा नाटक मञ्चन गरेका थिए। आजको कार्यक्रममा ५० भन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

महोत्सवमा सहभागी सबै समूहलाई सामूहिक रूपमा पुरस्कृत गरिने विद्यालयले जनाएको छ। यस प्रकारका सिर्जनात्मक कार्यक्रमले विद्यार्थीहरूको अभिव्यक्ति क्षमता, आत्मविश्वास र कला–संस्कृतिप्रतिको रुचि विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *