सीपसँगै स्वरोजगारको बाटो : वडा–१२ मा घरेलु सर्फ, साबुन तथा हर्पिक–फिनेल बनाउने तालिम सम्पन्न
सुन्दरहरैंचा, मोरङ । महिलाहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले सुन्दरहरैंचा नगरपालिका–१२ मा सञ्चालन गरिएको ३ दिने घरेलु लुगाधुने सर्फ, नुहाउने साबुन तथा हर्पिक–फिनेल बनाउने तालिम सम्पन्न भएको छ।
सुन्दरहरैंचा नगरपालिका वडा नं. १२ को आर्थिक सहयोग तथा जनचर्चा टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ प्रा.लि.को प्राविधिक सहयोगमा आयोजित तालिममा २० जना महिलाको सहभागिता रहेको थियो। तालिममा प्रशिक्षक तथा सिद्धार्थ स्किल डेभलोपमेन्टका अध्यक्ष पार्वती गच्छदारले घरेलु तथा व्यावसायिक प्रयोजनका लागि आवश्यक सरसफाइ सामग्री उत्पादन गर्ने व्यावहारिक सीप प्रदान गर्नुभएको थियो।
तालिम समापन कार्यक्रम वडा सदस्य निलम थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि वडा नं. १२ का अध्यक्ष तथा नगर प्रवक्ता रोशन प्रसाद ढकालले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिम अपरिहार्य रहेको बताउनुभयो। उहाँले सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतारी स्वरोजगारतर्फ अग्रसर हुन सहभागीहरूलाई आग्रह गर्दै वडा कार्यालयले आगामी दिनमा पनि यस्ता आयमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि टिका प्रसाद सुवेदी र गोपाल कार्की, टोल विकास संस्थाका पदाधिकारी डिल्लिरमण घिमिरे, ज्येष्ठ नागरिक समाजका अध्यक्ष शिवप्रसाद दाहाल, नागरिक समाजका प्रतिनिधि दुर्गाप्रसाद रिजाल, मेलमिलाप केन्द्रका प्रतिनिधि मोहन प्रसाद ढकाल र गुरुप्रसाद अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै तालिमबाट प्राप्त सीपलाई उत्पादन र व्यवसायसँग जोड्न सुझाव दिएका थिए।
सहभागी प्रशिक्षार्थी अस्मिता विकले तालिमबाट नयाँ सीप सिक्ने अवसर प्राप्त भएको बताउँदै यसलाई आयआर्जनको माध्यम बनाउने लक्ष्य रहेको बताउनुभयो। अर्की सहभागी सुसिला कार्कीले तालिम निकै उपलब्धिमूलक रहेको उल्लेख गर्दै महिलाहरूलाई आत्मनिर्भर बन्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो।
प्रशिक्षक पार्वती गच्छदारले तालिममा सहभागीहरूको उत्साहजनक सहभागिताले कार्यक्रम सफल भएको बताउँदै सीपलाई व्यवहारमा उतार्न सके साना लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने बताउनुभयो। उहाँले स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनको उपयोग गर्दै महिलाहरूलाई उद्यमशीलतामा जोड्न यस्ता तालिम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।
समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो। आयोजकका अनुसार तालिमले सहभागी महिलाहरूमा सीप, आत्मविश्वास र उद्यमशील सोचको विकास गर्दै स्वरोजगारका सम्भावना बढाएको छ।





