राप्रपामा ठूलो विभाजनको संकेत, धवलशम्शेर राणासहित दर्जनौँ नेताले सामूहिक राजीनामा दिने तयारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। पार्टीका महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा एक समूहले सामूहिक रूपमा पार्टी परित्याग गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार राणा समूहले आगामी जेठ १८ गते काठमाडौंस्थित होटल यलो प्यागोडामा पत्रकार सम्मेलन आयोजना गरी सामूहिक राजीनामाको घोषणा गर्ने तयारी गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै आएका राणा पक्षले पार्टीभित्र आफ्ना धारणा र सुझावको सुनुवाइ नभएको आरोप लगाउँदै आएको छ।

उक्त समूहले प्रतिनिधिसभा निर्वाचन २०८२ मा राप्रपाका अधिकांश उम्मेदवारको जमानत जफत हुनुमा नेतृत्वको कार्यशैली जिम्मेवार रहेको दाबी गर्दै आएको छ। केन्द्रीय कार्यसमिति तथा कार्यसम्पादन समितिमा उठाइएका विषयसमेत बेवास्ता गरिएको उनीहरूको गुनासो छ।

राजीनामापछि डा. राणाको समूहले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सहकार्य गर्दै नयाँ राजनीतिक दल गठन गर्ने तयारी गरिरहेको बताइएको छ।

स्रोतका अनुसार राणा र प्रसाईंबीच यस विषयमा पटकपटक छलफल भइसकेको छ। उनीहरूले विभिन्न समूहमा छरिएर रहेका राजावादी शक्तिलाई एकताबद्ध गर्दै बलियो राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य लिएका छन्।

राणा पक्षका एक नेताका अनुसार सामूहिक राजीनामामा राप्रपाका करिब ४० देखि ५० जना केन्द्रीय सदस्य सहभागी हुने तयारीमा छन्। यस कदमले राप्रपाको आन्तरिक राजनीतिमा नयाँ तरंग सिर्जना गर्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *