अग्रणी सामुदायिक कृषि सहकारीको १३ औं बार्षिक साधारण सभा

सुन्दरहरैंचा / मंसिर ९ गते

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा ४ मा रहेको अग्रणी सामुदायिक कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १३ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ।

उक्त बार्षिक साधारणसभामा संस्थाका अध्यक्ष अम्बिका दहालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै व्यवसायिक भएर काम गर्ने किसानलाई ३ लाख आय आर्जन गर्न सक्ने बनाउनका निमित्त तालिम तथा कर्जा प्रदान गर्दै सहयोगी भुमिका निर्वाह गर्ने बताएकी छिन।

युवा स्वरोजगार कोषबाट प्राप्त पहिलो किस्ता रु १५ लाख प्राप्त गरी १७ जना साना कृषकहरुलाई सेवा प्रदान गर्दै पुनः दोस्रो किस्ता प्राप्त गरी १७ जना सदस्यहरुलाई ऋण प्रदान गरी सेवा थप गरेको अध्यक्ष दहालले बताईन।

जिल्ला कृषि सहकारी संघ मोरङ अध्यक्ष रबिन्द्र आचार्यले कार्यक्रमको बिधिवत उदघाटन गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि रहेका आचार्यले केहि सहकारीका संचालकहरु ठगि गरी फरार भएका समाचारहरु दिनप्रतिदिन बढिरहेको अवस्थामा अबका संचालक, शेयर सदस्य सहकारी शिक्षामा निपुण हुनु पर्ने धारणा राख्दै कर्मचारीले फटाइ गरेमा संचालकले आफुलाई थाहा छैन भनेर उन्मुक्ति नपाउने उल्लेख गरे।

उक्त साधारणसभामा उत्कृष्ट बचतकर्ता, असल ऋणी र शेयर सदस्य परिवारका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो। संस्थाले समाजिक उतरदायित्व पुरा गर्दै सदस्य राहत कोष कार्यक्रम समेत लागु गरिएको छ। सो कार्यक्रममा जेष्ठ सदस्य सम्मान कार्यक्रम समेत गरिएको थियो।

कृषि सहकारी संघ मोरङका उपाध्यक्ष शोभितमान पौडेलले सिमित स्रोत साधन तथा पूँजिका कारण शेयर सदस्यहरुको आवश्यकतालाई पूर्णरुपमा सम्बोधन गर्न नसकेतापनि क्षमताले भ्याएसम्म कृषि उपज तथा कृषि ब्यवसायिलाई नै प्रोत्साहन गर्नु पर्ने बताए।

उक्त सहकारीमा ८ सय ८४ सेयर सदस्य आवद्ध छन भने चालु आर्थिक बर्षमा संस्थाले ३ करोडको कारोबार गरेको छ।

सो कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष अजम्बर राई, वडा नं. ७ का अध्यक्ष भुवनसिंह आलेमगर लगायतले आफ्नो धारणा राख्दै शुभकामना ब्यक्त गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ