पाल्पाको खुर्सानेमा बस दुर्घटना : एकै गाउँका ६ महिलाको मृत्यु, १८ जना घाइते

पाल्पा । पाल्पाको रैनादेवि छहरा गाउँपालिका–८ खुर्सानेमा भएको सवारी दुर्घटनामा एकै गाउँका ६ महिलाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा राति साढे ९ बजेतिर मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको हो ।

ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका ६ जना महिलाको ज्यान गएको छ । दुर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, दानकुमारी खत्री र गुनी गाहाको ज्यान गएको वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिएका छन् । मृतक सबै खुर्साने गाउँका हुन् ।मृतकमध्ये तीन जनाको शव बाहिर निकालिएको छ भने ३ जना बसले च्यापेको अवस्थामा छन् । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ ।

पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीयले उद्धारको कार्य जारी राखेको स्थनीय प्रहरी चौकी जुठापौवाका वरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिएका छन् । दुर्घटनामा घाइते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले बताए । घटनास्थल रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दूरीमा पर्दछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ