गुणस्तरीय प्रिप्रेशन कक्षासहित बिराटचोकबाट पूर्वी नेपालका विद्यार्थीको वैदेशिक सपना साकार हुँदै
काठमाडौं र बुटवलपछि सुन्दरहरैंचामा जीआईईसी
गुणस्तरीय प्रिप्रेशन कक्षासहित बिराटचोकबाट पूर्वी नेपालका विद्यार्थीको वैदेशिक सपना साकार हुँदै
एलएन गच्छदार
सुन्दरहरैंचा (मोरङ) :
वैदेशिक अध्ययन आज केवल विदेश जाने रहर मात्र होइन, यो सीप, भाषा, सोच र भविष्यको सही तयारीसँग जोडिएको दीर्घकालीन निर्णय हो। यही यथार्थलाई आत्मसात गर्दै काठमाडौं र बुटवलपछि वैदेशिक अध्ययन तथा भाषा प्रशिक्षण क्षेत्रमा स्थापित प्रतिष्ठित शैक्षिक संस्था जीआईईसी (GIEC) ले मोरङको सुन्दरहरैंचा नगरपालिकाको केन्द्र बिराटचोकमा आफ्नो नयाँ शाखा औपचारिक रूपमा शुभारम्भ गरेको छ।
पूर्वी नेपालका हजारौँ विद्यार्थीका लागि यो शाखा उद्घाटन केवल नयाँ कार्यालय खोलिनु होइन, गुणस्तरीय परामर्श, स्तरीय प्रिप्रेशन कक्षा र भरोसायोग्य मार्गदर्शन आफ्नै ठाउँबाट पाउने अवसरको रूपमा हेरिएको छ।
उक्त शाखाको संयुक्त उद्घाटन मोरङ उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष तथा उद्योगी भोलेश्वर दुलाल र सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले गर्नुभएको हो।
रणनीतिक विस्तार, अनुभवी संस्था
उद्घाटन समारोहलाई सम्बोधन गर्दै जीआईईसीका अध्यक्ष नवराज केशीले काठमाडौंपछि बुटवल र त्यसपछि बिराटचोक रोजिनु योजनाबद्ध र रणनीतिक निर्णय भएको बताउनुभयो।
“हामी जहाँ शाखा खोल्छौँ, त्यहाँ दीर्घकालीन सम्भावना, विद्यार्थीको आवश्यकता र गुणस्तर कायम राख्ने क्षमतालाई पहिलो प्राथमिकतामा राख्छौँ,” उहाँले भन्नुभयो।
उहाँका अनुसार हालसम्म १० हजारभन्दा बढी विद्यार्थी जीआईईसीमार्फत वैदेशिक अध्ययनका प्रक्रियामा सहभागी भइसकेका छन्।
जीआईईसीले अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, युके, जापानलगायत १० भन्दा बढी मुलुकमा अध्ययनका अवसर प्रदान गर्दै आएको छ।
स्तरीय प्रिप्रेशन कक्षा जीआईईसीको बलियो पक्ष
जीआईईसीलाई अन्य संस्थाभन्दा फरक बनाउने प्रमुख पक्ष भनेको यसको गुणस्तरीय प्रिप्रेशन कक्षा हो।
आईईएलटीएस, जापानीज, कोरियनलगायत भाषा तयारी कक्षाहरू अनुभवी प्रशिक्षक, अद्यावधिक पाठ्यक्रम र परिणाममुखी शिक्षण विधिमा आधारित छन्।
विद्यार्थीको स्तरअनुसार प्लेसमेन्ट टेस्ट, व्यक्तिगत कमजोरी पहिचान, नियमित मोडेल टेस्ट, मोक टेस्ट र काउन्सेलिङमार्फत पढाइ गरिने भएकाले विद्यार्थीहरू केवल परीक्षा पास गर्न होइन, विदेशमा गएपछि पनि सहज रूपमा पढ्न र काम गर्न सक्षम हुने गरी तयार पारिने जीआईईसीको दाबी छ।
अब काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य
बिराटचोक शाखाका प्रबन्ध निर्देशक बिना पोखरेलका अनुसार अब पूर्वी नेपालका विद्यार्थीले गुणस्तरीय सेवा लिन काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको छ।
“विद्यार्थी र अभिभावकलाई पारदर्शी जानकारी, सही मार्गदर्शन र विश्वसनीय सेवा दिनु हाम्रो प्रतिबद्धता हो,” उहाँले भन्नुभयो, “यहाँबाटै सम्पूर्ण प्रक्रिया सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न हुन्छ।”
स्थानीय नेतृत्वको सकारात्मक धारणा
कार्यक्रममा बोल्दै सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले जीआईईसीजस्तो संस्थाको आगमनले नगरको शैक्षिक वातावरण थप मजबुत हुने बताउनुभयो।
“स्थानीय स्तरमै अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी परामर्श र स्तरीय प्रिप्रेशन कक्षा उपलब्ध हुनु विद्यार्थीका लागि ठूलो अवसर हो,” उहाँले भन्नुभयो।
यस्ता संस्थाले रोजगारी सिर्जना गर्नुका साथै सुन्दरहरैंचालाई शैक्षिक केन्द्रको रूपमा चिनाउन सहयोग पुग्ने उहाँको धारणा थियो।
त्यसैगरी मोरङ उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले जीआईईसीको सेवा विस्तारले समय, खर्च र मानसिक तनाव घट्ने उल्लेख गर्नुभयो।
“अब यहीँबाट विश्वस्तरीय सेवा पाउँदा विद्यार्थी र अभिभावक दुवै लाभान्वित हुन्छन्,” उहाँले बताउनुभयो।
परिणाममुखी उद्देश्य, दीर्घकालीन सोच
संस्थाका सञ्चालक हिमालय पोखरेलले सुन्दरहरैंचा तथा आसपासका क्षेत्रका विद्यार्थीलाई लक्षित गर्दै सीप, भाषा र वैदेशिक अध्ययनलाई व्यवस्थित, विश्वसनीय र परिणाममुखी बनाउने उद्देश्यसहित शाखा सञ्चालन गरिएको जानकारी दिनुभयो।
जीआईईसी बिराटचोक शाखाको शुभारम्भसँगै पूर्वी नेपालका विद्यार्थीका लागि वैदेशिक अध्ययन अब सपना मात्र होइन, सही तयारीसहित पूरा गर्न सकिने यथार्थ अवसरका रूपमा अघि बढेको सरोकारवालाहरूको निष्कर्ष छ।
