कांग्रेसका निर्वाचित सांसद टेकबहादुर गुरूङ भ्रष्टाचारी ठहर
काठमाडौं । विशेष अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका गुरुङसहित नौ जनालाई दोषी ठहर गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्क सञ्चालनमा भाडादर सस्तो गरेको भन्दै गुरूङ र न्यौपानेसहित ९ जनालाई विशेष अदालतको इजलासले मंगलबार दोषी ठहर गरेको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फनपार्क सञ्चालनमा भ्रष्टाचार भएको भन्दै २०७५ माघ २१ मा १४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।आयोगले फनपार्कको जग्गा ठेक्का प्रकरणमा २ अर्ब ८३ करोड ६८ लाख रूपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै उनीहरूविरूद्ध मुद्दा दायर गरेको थियो। ठेक्का लिँदा मिलेमतो भएको अख्तियारको दाबी थियो।फैसलामा पूर्वमन्त्री बद्री न्यौपाने समेतलाई दोषी ठहर गरिएको छ ।
विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले दोषी ठहर गरिएका व्यक्तिहरुमाथि फागुन २५ गते सजाय तोकिने बताए ।दोषी ठहरिएका अरू ७ जना समाज कल्याण परिषदका तत्कालीन सदस्य- सचिव रवीन्द्रकुमार यादव, उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जबिहारी प्रसाद चौधरी लगायत छन्।
के थियो दाबी ?
- बद्रीप्रसाद न्यौपाने, तत्कालीन महिला बालबालिका तथा समाज कल्याणमन्त्री तथा समाज कल्याण परिषद् अध्यक्ष (३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ बिगो मागदावी थियो)
- प्रमोद मेहता, समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष (३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ बिगो मागदावी थियो)
- कुञ्जबिहारीप्रसाद चौधरी, तत्कालीन कोषाध्यक्ष (३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ बिगो मागदावी थियो)
- रवीन्द्रकुमार यादव, तत्कालीन सदस्य सचिव (३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ बिगो मागदावी थियो)
- मोहनराज शर्मा, तत्कालीन सदस्य (३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ बिगो मागदावी थियो)
- मदनकुमार लाल कर्ण तत्कालीन सदस्य (३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ बिगो मागदावी थियो)
- टेकबहादुर गुरुङ, मेला सञ्चालक (भृकुटी मण्डप फनपार्क) (३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ बिगो मागदावी थियो)
- रवीन्द्र गुरुङ, फनपार्क प्रमुख सञ्चालक (३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ बिगो मागदावी थियो)
