काठमाडौं र बुटवलपछि जीआईईसीको शाखा सुन्दरहरैंचाको बिराटचोकमा औपचारिक शुभारम्भ
एलएन गच्छदार
सुन्दरहरैंचा (मोरङ) : वैदेशिक अध्ययन तथा भाषा प्रशिक्षण क्षेत्रमा स्थापित शैक्षिक संस्था जीआईईसी (GIEC) ले काठमाडौं र बुटवलपछि मोरङको सुन्दरहरैंचा नगरपालिकाको केन्द्र बिराटचोकमा आफ्नो नयाँ शाखा औपचारिक रूपमा शुभारम्भ गरेको छ।
संस्थाको शाखा उद्घाटन मोरङ उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष तथा उद्योगी भोलेश्वर दुलाल र सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले संयुक्त रूपमा गर्नुभएको हो।
उद्घाटन समारोहमा जीआईईसीका अध्यक्ष नवराज केशीले काठमाडौंपछि बुटवल र त्यसपछि बिराटचोक रोज्नु रणनीतिक निर्णय भएको बताउँदै हालसम्म करिब १० हजारभन्दा बढी विद्यार्थी संस्थासँग आबद्ध भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, युके, जापानलगायत १० भन्दा बढी मुलुकमा अध्ययनका अवसर प्रदान गर्दै आएको जीआईईसीले जापानीज, कोरियन लगायत विभिन्न भाषा प्रशिक्षण तथा आईईएलटीएस तयारी कक्षा सञ्चालन गर्दै आएको छ।
बिराटचोक शाखाका प्रबन्ध निर्देशक बिना पोखरेलले अब पूर्वी नेपालका विद्यार्थीहरूलाई काठमाडौं जानुपर्ने बाध्यता अन्त्य हुँदै यहीँबाट गुणस्तरीय, पारदर्शी र भरोसायोग्य सेवा प्राप्त हुने बताउनुभयो।
कार्यक्रममा बोल्दै सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले जीआईईसीजस्ता प्रतिष्ठित शैक्षिक संस्थाको आगमनले यस क्षेत्रको शैक्षिक र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो। “स्थानीय स्तरमै अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी परामर्श र भाषा तालिम उपलब्ध हुनु यहाँका विद्यार्थीका लागि ठूलो अवसर हो,” उहाँले भन्नुभयो। यस्ता संस्थाको स्थापनाले रोजगारी सिर्जना गर्नुका साथै नगरको शैक्षिक पहिचानलाई समेत मजबुत बनाउने उहाँको भनाइ थियो।
त्यसैगरी उद्योगपति तथा मोरङ उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले जीआईईसीको सेवा विस्तारले विद्यार्थी र अभिभावकलाई काठमाडौं धाउनुपर्ने झन्झट कम हुने उल्लेख गर्नुभयो। “अब यहीँबाट विश्वस्तरको सेवा पाउँदा समय, खर्च र झन्झट सबैको बचत हुन्छ,” उहाँले बताउनुभयो। साथै छाता संगठन उद्योग वाणिज्य संघसँग सहकार्य गर्दै सधैं साथ र सहयोगमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
संस्थाका सञ्चालक हिमालय पोख्रेलले सुन्दरहरैंचा तथा आसपासका क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गर्दै सीप, भाषा र वैदेशिक अध्ययनलाई व्यवस्थित, विश्वसनीय र परिणाममुखी बनाउने उद्देश्यसहित शाखा सञ्चालन गरिएको जानकारी दिनुभयो।
जीआईईसी बिराटचोक शाखाको शुभारम्भसँगै पूर्वी नेपालका विद्यार्थीहरूका लागि वैदेशिक अध्ययन र भाषा शिक्षाको पहुँच अझ सहज बनेको सरोकारवालाहरूको भनाइ छ।
