नगरकै पहिचान बोकेको साजीलाल मावि : ६ दशकको शैक्षिक यात्रामा सम्मान र संस्कृतिको उत्सव

एलएन गच्छदार , सुन्दरहरैंचा

मोरङको सुन्दरहरैँचा–६, दुलारी  स्थित साजीलाल माध्यमिक विद्यालयले आफ्नो ६०औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई पाँच  दिनसम्म विविध शैक्षिक, खेलकुद र सांस्कृतिक कार्यक्रममार्फत भव्य उत्सवका रूपमा मनाएको छ। छ दशक लामो शैक्षिक यात्रालाई स्मरण गर्दै आयोजना गरिएको कार्यक्रममा विद्यालय, अभिभावक, पूर्व विद्यार्थी र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनेको देखिन्थ्यो।

वार्षिकोत्सव अवधिभर आन्तरिक खेलकुद प्रतियोगिता, नगरस्तरीय अन्तर सामुदायिक माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता तथा आकर्षक सांस्कृतिक प्रस्तुति आयोजना गरिएका थिए। हाजिरीजवाफ प्रतियोगितामा साजीलाल माध्यमिक विद्यालय प्रथम, सुकुना माध्यमिक विद्यालय द्वितीय र जनता माध्यमिक विद्यालय तृतीय हुन सफल भएका छन्।

कार्यक्रमको उद्घाटन सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईले पानसमा बत्ती बालेर तथा विद्यालयका संस्थापक स्वर्गीय साजीलाल चौधरीको सालिकमा माल्यार्पण गरी गर्नुभएको थियो। राष्ट्रिय गान, स्वागत मन्तव्य, स्वागत नृत्य, विद्यालयको वार्षिक प्रतिवेदन तथा वार्षिक मुखपत्र सार्वजनिककरणले कार्यक्रमलाई औपचारिकता र गरिमाले भरिएको बनाएको थियो।

सांस्कृतिक सत्रमा शिक्षक–शिक्षिकाहरूले “यो हो मेरो प्राण भन्दा प्यारो” बोलको गीतमा प्रस्तुत गरेको नृत्यले उपस्थित दर्शकहरूलाई भावुक बनाएको थियो।

वार्षिकोत्सवका अवसरमा विद्यालयको शैक्षिक यात्रामा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्व तथा विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन प्रदान गरिएको थियो। पूर्व विद्यार्थी सम्मान अन्तर्गत भक्ति प्रसाद सिटौला र सोभितलाल चौधरीलाई सम्मान गरियो भने पूर्व शिक्षक सम्मान शिवनारायण चौधरीलाई प्रदान गरिएको थियो। यसैगरी विद्यालय व्यवस्थापन समितिमा रही दीर्घकालीन योगदान पुर्‍याएका रामप्रसाद उप्रेतीलाई विशेष कदर गरिएको थियो।

उत्कृष्ट शिक्षक सम्मान शिक्षक अक्षय कोषबाट चुडामणी दुलाललाई प्रदान गरिएको थियो भने कर्मचारीतर्फ उत्कृष्ट रोहित विश्वकर्मा सम्मानित भएका छन्।

विद्यार्थी तहगत सम्मानअन्तर्गत बालकक्षा (पूर्व प्राथमिक तह) सपना गौतम भुजेल, आधारभूत तह कक्षा १–५ गणेश नेपाल, आधारभूत तह कक्षा ६–८ पर्शुराम ढकाल, माध्यमिक तह कक्षा ९–१० भवानी शंकर ढकाल तथा माध्यमिक तह कक्षा ११–१२ सुन्दर बुढाथोकी सम्मानित भएका छन्।

यसैगरी विद्यार्थी सम्मान अन्तर्गत बौद्धिक ज्ञानतर्फ जिवितेस कट्टेल र खेलकुदतर्फ बितिसा रिजाललाई सम्मान प्रदान गरिएको थियो। राष्ट्रपति रनिङ सिल प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पनि विशेष प्रोत्साहन गरिएको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख गुरागाईले साजीलाल माध्यमिक विद्यालयले नगरकै शैक्षिक पहिचान बोकेको विद्यालयका रूपमा योगदान पुर्‍याएको उल्लेख गर्दै व्यवहारिक, गुणस्तरीय र जीवनोपयोगी शिक्षामा अझ जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले वार्षिकोत्सवको महत्वबारे भनाइ राख्दै भने,
“साजीलाल माध्यमिक विद्यालय केवल पढाइको केन्द्र मात्र होइन, मूल्य, संस्कार र सामाजिक जिम्मेवारी सिकाउने साझा थलो हो। ६० वर्षको यात्रामा विद्यालयले समुदायको विश्वास जित्न सकेको छ। आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न हामी प्रतिबद्ध छौँ।”

नगरका विभिन्न सामुदायिक तथा आधारभूत विद्यालयका प्रतिनिधि, अभिभावक, छिमेकी विद्यालय, पूर्व विद्यार्थी, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिताबीच कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र ओझाको सभापतित्वमा सम्पन्न भएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *