सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको १८औँ वार्षिक साधारण सभा सम्पन्न

एलएन गच्छदार /  सुन्दरहरैंचा (मोरङ) :
स्वच्छ र सुरक्षित खानेपानी नागरिकको आधारभूत आवश्यकता मात्र नभई स्वास्थ्य, स्वाभिमान र समग्र जीवनस्तरसँग प्रत्यक्ष जोडिएको विषय हो भन्ने सन्देशसहित सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समिति, सुन्दरहरैंचा नगरपालिका वडा नं.–८ को १८औँ वार्षिक साधारण सभा तथा पूर्व समिति सम्मान कार्यक्रम सम्पन्न भएको छ।

समितिका अध्यक्ष रामकुमार तामाङको  अध्यक्षतामा सम्पन्न साधारण सभामा समितिको हालसम्मको उपलब्धि, चुनौती र भावी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो। अध्यक्ष रामकुमारले सभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै खानेपानी सेवा विस्तार, सरसफाइ प्रवर्द्धन, व्यवस्थापन सुधार तथा उपभोक्ताको सक्रिय सहभागितामा समितिले खेलेको भूमिकाबारे जानकारी गराउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, विराटनगरका प्रमुख सुरतलाल चौधरीले सुरक्षित र स्वच्छ खानेपानी नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्नुभयो।
“खानेपानी आयोजना केवल भौतिक संरचना मात्र होइन, यो समुदायको स्वास्थ्य, स्वाभिमान र भविष्यसँग जोडिएको विषय हो,” उहाँले भन्नुभयो।
उहाँले खानेपानी प्रणालीको दिगोपन, नियमित मर्मत–सम्भार र उपभोक्ताको सक्रिय सहभागिता बिना दीर्घकालीन सफलता सम्भव नहुने स्पष्ट पार्नुभयो।

विशिष्ट अतिथि तथा सलकपुर खानेपानी उपभोक्ता समितिका संस्थापक अध्यक्ष एवं पूर्व प्रदेश सांसद लोकप्रसाद संग्रौलाले समितिको स्थापना कालदेखि हालसम्मको यात्राबारे स्मरण गर्दै समुदायको साझा प्रयासले मात्र यस्ता आयोजना सफल हुने बताउनुभयो।
उहाँले सीमित स्रोतसाधनका बाबजुद स्थानीय बासिन्दाको विश्वास, सहयोग र निरन्तर प्रतिबद्धताले समिति आजको अवस्थामा आइपुगेको उल्लेख गर्नुभयो।

कार्यक्रममा बोल्दै सुन्दरहरैंचा नगरपालिका वडा नं.–८ का वडा अध्यक्ष खेम न्यौपानेले “कोही पनि स्वच्छ खानेपानीको पहुँचबाट बञ्चित नहोस्” भन्ने लक्ष्यका साथ स्थानीय तह निरन्तर क्रियाशील रहेको बताउनुभयो।
उहाँले खानेपानी तथा सरसफाइलाई नगरपालिकाको प्राथमिकतामा राख्दै सेवा विस्तार, पूर्वाधार सुधार र जनचेतना अभिवृद्धिमा पूर्ण सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साधारण सभामा लेखा संयोजक सरोज भट्टराईले समितिको आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गर्दै आम्दानी–खर्च, वित्तीय अनुशासन र पारदर्शिताबारे जानकारी गराउनुभयो।
त्यसैगरी कोषाध्यक्ष सावित्रा पोखरेलले समितिको आर्थिक अवस्था, कोष व्यवस्थापन र आगामी योजनासम्बन्धी कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभयो। सहभागीहरूले प्रतिवेदनमाथि छलफल गर्दै आर्थिक पारदर्शिताप्रति सन्तोष व्यक्त गरेका थिए।

साधारण सभाको अवसरमा समितिको सेवा प्रवाहलाई प्रभावकारी बनाउन योगदान पुर्‍याउने कर्मचारीहरूलाई प्रोत्साहनस्वरूप नगदसहित सम्मान गरिएको थियो।
यसैगरी समितिको स्थापना, विकास र सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेका पूर्व समिति पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरिएको थियो। सम्मान कार्यक्रमले संस्थागत स्मृति जोगाउनुका साथै भावी पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा उपभोक्ता, स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय तथा समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समितिले आगामी दिनमा सेवा सुधार, खानेपानीको गुणस्तर अभिवृद्धि, नियमित अनुगमन तथा सरसफाइ सचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *