एमाले सुन्दरहरैंचाको नगर अध्यक्षमा डिल्ली ढकालको उम्मेदवारी घोषणा

एलएन गच्छदार / सुन्दरहरैंचा 

नेकपा (एमाले) सुन्दरहरैंचा नगर कमिटीका सचिव डिल्ली ढकालले आगामी चैत्र २८ गते हुने दोस्रो नगर अधिवेशनमा नगर अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका ढकालले पार्टीप्रतिको निष्ठा, अनुशासन र समर्पणका आधारमा नेतृत्वको जिम्मेवारी सम्हाल्ने दाबी गरेका हुन्।

ढकाल सुन्दरहरैंचामा एक जिम्मेवार, कर्तव्यनिष्ठ र अनुशासित कार्यकर्ता तथा सशक्त संगठनकर्ता मानिन्छन्। पार्टीको विभिन्न तहमा रहेर संगठन विस्तार, कार्यकर्ता परिचालन र जनस्तरसँगको सम्पर्क सुदृढ बनाउन उनले खेलेको भूमिकाले उनलाई नगर स्तरीय नेतृत्वका लागि उपयुक्त उम्मेदवार बनाएको कार्यकर्ताहरू बताउँछन्।

उम्मेदवारी घोषणा गर्दै ढकालले भने, “पार्टी संगठनलाई अझ एकीकृत, अनुशासित र जनमुखी बनाउने लक्ष्यसहित म नगर अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको हुँ। पार्टीभित्रको सहकार्य र सामूहिक निर्णय प्रक्रियालाई प्राथमिकतामा राख्दै संगठनलाई नयाँ उचाइमा पुर्‍याउने संकल्प लिएको छु।”

साथै, आसन्न अधिवेशनलाई लिएर नगरमा एमाले कार्यकर्ताबीच उत्साह थपिएको छ। सम्भावित नेतृत्वका आकांक्षीहरू सक्रिय हुँदै गर्दा अधिवेशन प्रतिस्पर्धात्मक र राजनीतिक दृष्टिले महत्वपूर्ण बन्ने देखिएको छ।

दोस्रो नगर अधिवेशन आगामी चैत्र २८ गते सम्पन्न हुने तयारीमा रहेको नगर कमिटीले जनाएको छ। अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिनेछ, जसले आगामी कार्यकालका लागि संगठन सञ्चालनको दिशा तय गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *