केन्द्रमा निर्वाचित दुई ढकाललाई सुन्दरहरैंचाबाट भव्य सम्मान: एन प्याब्सन नगरको आयोजनामा बधाई कार्यक्रम सम्पन्न

एलएन गच्छदार / सुन्दरहरैंचा

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) सुन्दरहरैंचा नगर कार्यसमितिको आयोजनामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का नव निर्वाचित केन्द्रीय उपाध्यक्ष टिका ढकाल, एन प्याब्सनका केन्द्रीय सदस्य नारायण ढकाल लगायतलाई एक भव्य कार्यक्रमका बीच बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरिएको छ।

नगर अध्यक्ष खगेन्द्र धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले गर्नु भएकी थिइन्। सम्बोधनको क्रममा उपप्रमुख चौधरीले निजी विद्यालयहरूले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै, नव निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिनुका साथै छात्रासँग संवाद गर्न ‘उपमेयर कार्यक्रम’ आगामी दिनहरूमा संस्थागत विद्यालयहरूसँग सहकार्यमा सञ्चालन गरिने जानकारी दिइन्।

कार्यक्रममा प्याब्सनका नव निर्वाचित केन्द्रीय उपाध्यक्ष टिका ढकालले प्याब्सन, एन प्याब्सन र हिसानजस्ता संस्था फरक भए तापनि तिनको साझा उद्देश्य गुणस्तरीय शिक्षा प्रदान गर्नु नै रहेको बताए। शैक्षिक सुधारका लागि सबै तहका सरोकारवालाबीच समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै उनले देशभरको शैक्षिक दायित्वमध्ये करिब ३५ प्रतिशत हिस्सा निजी क्षेत्रले बहन गरिरहेको तथ्य प्रस्तुत गरे।

नगर प्रवक्ता रोशन ढकालले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि संस्था र पदाधिकारीहरूबीच गहिरो समन्वय आवश्यक रहेको धारणा राख्दै, सुन्दरहरैंचालाई शैक्षिक हबको रूपमा विकास गर्न सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।

कोशी प्रदेशका सह-सचिव कमल खनालले शुभकामना मन्तव्य दिँदै, नव निर्वाचित नेतृत्वको कार्यकाल सफल, सबल र प्रेरणादायी हुने विश्वास व्यक्त गरे। साथै, निजी शैक्षिक संस्थाहरूको समस्यालाई केन्द्रीय तहमा प्राथमिकताका साथ उठाउने अपेक्षा व्यक्त गरे। उनले भने, “शिक्षा नीतिको समायोजन, गुणस्तरीय शिक्षा र निजी विद्यालयहरूका चुनौती समाधानमा हाम्रो भूमिका सक्रिय र नीतिगत हुनेछ।” साथै केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै शिक्षाको समग्र सुधारतर्फ अग्रसरता लिएर अघि बढनु पर्ने बताए ।

कार्यक्रममा एन प्याब्सनका केन्द्रीय सदस्य नारायण ढकालले नव निर्वाचित पदाधिकारीहरूले जिम्मेवारीपूर्ण ढंगले संस्था र शैक्षिक विकासमा योगदान दिनुपर्नेमा जोड दिँदै, आफूले प्राप्त गरेको विश्वासलाई इमानदारीपूर्वक वहन गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विभिन्न विद्यालयका प्राचार्य, शिक्षक, शिक्षाविद्, प्रतिनिधि तथा एन प्याब्सनका विभिन्न तहका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *