बेकरी तथा मिठाइ बनाउने तालिम सफलतापूर्वक सम्पन्न
एलएन गच्छदार / सुन्दरहरैंचा
JCI इन्द्रपुर र पाथीभरा स्वतन्त्र महिला समाजको संयुक्त आयोजनामा बेकरी तथा मिठाइ बनाउने तालिम सफलता साथ सम्पन्न भएको छ। नेपालिरिका होटेलमा भएको सो तालिममा ५० भन्दा बढी महिला सहभागी भएर विभिन्न प्रकारका केक, कुकीज तथा परिकारहरू बनाउने सीप सिकेका छन्।
तीन दिनसम्म सञ्चालन भएको उक्त तालिममा प्रशिक्षकहरूले बेकरी उद्योगमा आवश्यक पर्ने आधारभूत ज्ञान, सामग्रीको प्रयोग, उचित तापक्रम व्यवस्थापन लगायतका विषयमा व्यावहारिक तालिम प्रदान गरेका थिए। सहभागीहरूले प्रत्यक्ष अभ्यास गर्दै स्वादिष्ट बेकरी परिकारहरू तयार पार्ने अवसर पनि पाए।
JCI इन्द्रपुरका अध्यक्ष आकास दुलालका अनुसार, तालिमको मुख्य उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउनु हो। “हामीले महिलाहरूको आर्थिक सशक्तिकरणका लागि यो तालिम आयोजना गरेका हौं,” अध्यक्ष दुलालले बताए।
त्यसैगरी, पाथीभरा स्वतन्त्र महिला समाजकी अध्यक्ष योजना शर्मा ढकालले स्थानीयस्तरमा यस्ता सीपमूलक तालिमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रमको समापनमा प्रशिक्षक, सहभागी तथा आयोजकहरूलाई धन्यवाद दिँदै JCI इन्द्रपुरले आगामी दिनमा पनि यस्तै व्यावसायिक सीप अभिवृद्धि गर्ने कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिएको छ।
