सुन्दरहरैंचा प्रथम शैक्षिक महोत्सव’ उत्साह, सिर्जना र सीपको जीवित पाठशाला बनेर सम्पन्न
सुन्दरहरैंचा नगरपालिका मा तीन दिनसम्म चलेको ‘प्रथम शैक्षिक महोत्सव’ उत्साह, सिर्जना र सीपको जीवित पाठशाला बनेर सम्पन्न भएको छ।
शिक्षालाई कक्षाकोठाको घेराबाट बाहिर ल्याई व्यवहारिक सीपसँग जोड्ने उद्देश्यले आयोजित महोत्सवमा नगरभित्रका ८७ सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूले आफ्ना लुकेका प्रतिभा उजागर गरे। एक सयभन्दा बढी स्टलमा विज्ञान–प्रविधि, गणितीय सीप, चित्रकला र मौलिक साहित्यिक कृतिहरूको प्रस्तुति अवलोकनकर्ताका लागि मुख्य आकर्षण बने।
विशेषगरी गणितीय प्रयोग र कार्यक्षमता प्रदर्शनले दर्शकलाई चकित पार्यो भने कला र साहित्यको संगम देखिएका स्टलहरूमा विद्यार्थीहरूको सृजनात्मक ऊर्जा झल्किएको थियो। प्रसिद्ध साहित्यकारका कृतिसँगै आफ्नै सिर्जनाहरू प्रदर्शन गर्दै विद्यार्थीहरू ज्ञान र कल्पनाशक्तिको संयोजन प्रस्तुत गरिरहेका देखिन्थे।
समापन समारोहमा नगर प्रमुख केदारप्रसाद गुरागाईं ले शिक्षालाई वैज्ञानिक, गुणस्तरीय र सीपमूलक बनाउने अभियानमा महोत्सव महत्वपूर्ण कदम भएको बताए। उनका अनुसार कक्षाकोठामा सीमित ज्ञानलाई सार्वजनिक मञ्चमा व्यवहारिक रूप दिनु नै कार्यक्रमको मूल उपलब्धि हो। साथै, संस्कार, संस्कृति, भेषभूषा र पुराना जीवनशैलीसँग नयाँ पुस्तालाई परिचित गराउनु पनि महोत्सवको अर्को विशेष पक्ष रह्यो।
३६ लाख रुपैयाँको लगानीमा सम्पन्न महोत्सवले सुन्दरहरैंचालाई शैक्षिक केन्द्रका रूपमा स्थापित गर्ने सम्भावना थप बलियो बनाएको सरोकारवालाहरूको विश्वास छ। तीन दिनको अवधिमा एक लाखभन्दा बढी अभिभावक, विद्यार्थी र सर्वसाधारणको सहभागिताले कार्यक्रमको प्रभावकारिता स्पष्ट पारेको नगरपालिकाले जनाएको छ।
स्थानीय शैक्षिक समुदायका अनुसार यस्ता पहलहरूले विद्यालयबीच सहकार्य, अनुभव आदानप्रदान र विद्यार्थीमा आत्मविश्वास अभिवृद्धि गराउँदै शैक्षिक रूपान्तरणतर्फ सकारात्मक गति दिने अपेक्षा गरिएको छ। आगामी वर्षहरूमा महोत्सवलाई निरन्तरता दिने नगरपालिकाको प्रतिबद्धताले शिक्षा र सीपलाई जोड्ने अभियान अझ सशक्त हुने संकेत दिएको छ।






