सुन्दरहरैंचा विराट एक्स्पोमा अर्गानिक किवी स्टलको लोकप्रियता, उपभोक्ताको उत्साहजनक प्रतिक्रिया

एलएन गच्छदार / सुन्दरहरैंचा, फागुन ७

सुन्दरहरैंचा नगरपालिका–१०, विराटचोकमा जारी सुन्दरहरैंचा विराट एक्स्पो २०८१ को चौथो संस्करणमा अर्गानिक किवी स्टल प्रमुख आकर्षण बनेको छ। पाँचथर जिल्ला मिक्लाजुङ–१ की कृषक जुनु लावती द्वारा राखिएको यो स्टलमा अर्गानिक किवी तथा यसबाट तयार गरिएका विभिन्न परिकारहरूले उपभोक्ताहरूको ध्यान तानेका छन्।
स्टलमा किवी स्क्वास, किवी जुस, किवी जाम, किवी मिक्स अचार, किवी वाइन जस्ता परिकारहरू उपलब्ध छन्। यी उत्पादनहरू १००% अर्गानिक तथा प्राकृतिक विधिबाट तयार गरिएको हुनाले स्वास्थ्यप्रति सचेत ग्राहकहरूले अत्यधिक रुचाएका छन्।
“हाम्रो लक्ष्य नेपाली उत्पादनलाई प्रवर्द्धन गर्दै स्वस्थ जीवनशैलीलाई प्रवर्धन गर्नु हो,” – कृषक जुनु लावती भन्छिन्।
एक्स्पोमा आएका स्थानीय तथा अन्य जिल्लाका आगन्तुकहरूले किवीका परिकार चाखेर राम्रो प्रतिक्रिया दिएका छन्। “किवीको जुस अत्यन्तै ताजा र स्वादिलो छ, बजारमा पाइने अन्य पेय पदार्थभन्दा गुणस्तरीय लाग्यो,” – स्थानीय पत्रकार शिव भट्टराई भन्छन्।
जुनु लावतीले आफ्नै फार्ममा उत्पादन गरेको अर्गानिक किवीको प्रशोधन गरी बजारमा उपलब्ध गराउँदै आएकी छन्। सनम फलफूल उत्पादन तथा प्रशोधन उद्योग दर्ता गरी उनले विगत लामो समयदेखि कृषि व्यवसायमा सक्रिय योगदान दिँदै आएकी छिन्। उनी किवी उत्पादन मात्र नभई किवी नर्सरी सञ्चालन गरेर बिरुवाबाट समेत आम्दानी गरिरहेकी छिन्।
यस वर्षको विराट एक्स्पोमा फापर, मकै, कोदो जस्ता रैथाने बालीको प्रवर्द्धन गर्दै बिक्री पनि भइरहेको छ। परम्परागत खाद्यान्न उपभोक्ताहरूको आकर्षणको केन्द्र बनेका छन्।
एक उपभोक्ता भन्छन् – “हाम्रो परम्परागत अन्न आधुनिक खानाको तुलनामा बढी पौष्टिक र स्वास्थ्यका लागि फाइदाजनक छ।” विराट एक्स्पो २०८१ फागुन १० गतेसम्म सञ्चालन हुनेछ, जसमा अर्गानिक उत्पादन र परम्परागत बालीको प्रवर्द्धनले स्थानीय उत्पादनलाई राष्ट्रिय बजारमा स्थापित गर्न र कृषि उद्यमशीलताको विकासमा योगदान दिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *