सुन्दरहरैंचा विराट एक्स्पोमा स्वतन्त्र पाथिभरा महिला समूहको स्टल: रैथाने बालीको प्रवर्द्धन र सामाजिक योगदान

एलएन गच्छदार
सुन्दरहरैंचा, मोरङ | फागुन ६ – मोरङको सुन्दरहरैंचामा जारी विराट एक्स्पोको चौथो संकरणमा स्वतन्त्र पाथिभरा महिला समूह द्वारा सञ्चालित स्टलले ध्यान तानेको छ। समूहले नेपाली परम्परागत तथा रैथाने बालीको प्रवर्द्धन गर्दै फापर, मकै, कोदो लगायतका अन्नहरू बिक्री गरिरहेको छ।

समूहले एक्स्पोमा फापर, मकै, कोदो लगायतका परम्परागत बालीहरू बिक्रीका लागि राखेको छ, जसलाई उपभोक्ताले सकारात्मक रूपमा लिएका छन्। सह-सचिव सावित्रा पोखरेलका अनुसार, अहिले सम्म ३ सय किलो सखर, ३५ किलो फापर, र ३० किलो कोदो बिक्री भइसकेको छ।

“हामीले घरेलु उत्पादनलाई प्रवर्द्धन गर्दै परम्परागत अन्नलाई पुनः जनजीवनमा स्थापित गर्ने प्रयास गरिरहेका छौं,” – पोखरेलले भनिन्।

बिक्रीबाट संकलित रकममध्ये केही हिस्सा सामाजिक सेवाका लागि खर्च गरिने पोखरेलले जानकारी दिइन्। यसअघि पनि स्वतन्त्र पाथिभरा महिला समूहले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ, जसमा सहायता वितरण, विपन्न बालबालिकाका लागि शैक्षिक सहयोग, र वातावरण संरक्षणसम्बन्धी अभियानहरू रहेका छन्।

स्थानीय उपभोक्ताहरूले परम्परागत खाद्यान्नप्रति चासो देखाएका छन्। “हाम्रो परम्परागत अन्न आधुनिक खानाको तुलनामा बढी पौष्टिक र स्वास्थ्यका लागि फाइदाजनक छ,” – एक ग्राहकले प्रतिक्रिया दिए।

विराट एक्स्पो फागुन १० गतेसम्म जारी रहनेछ, जसमा रैथाने बालीको स्टल प्रमुख आकर्षणमध्ये एक बन्न सफल भएको छ। यस्तो प्रयासले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नाका साथै कृषि उद्यमशीलता र महिलाहरूको आत्मनिर्भरतालाई बल पुर्याउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *