मिक्लाजुङमा तीनदिने सकारात्मक सोच तथा नेतृत्व विकास तालिम सम्पन्न

मिक्लाजुङमा तीनदिने सकारात्मक सोच तथा नेतृत्व विकास तालिम सम्पन्न

मिक्लाजुङ।

मिक्लाजुङ गाउँपालिकाको आर्थिक सहयोग तथा जनचर्चा टाइम्स मिडिया एण्ड एड्भरटाइजिङ प्रा.लिको आयोजनामा संचालित सकारात्मक सोच तथा नेतृत्व विकास तालिम आइतबार एक विशेष समारोहका बीच सम्पन्न भएको छ। बिहीबारदेखि सुरु भएको तालिम पहिलो दिन सिहंदेवी आधारभूत विद्यालय, दोस्रो दिन चन्द्रमा आधारभूत विद्यालय र तेस्रो दिन वडा तालिम हलमा निरन्तर रूपमा गरिनु यसको विशेषता रह्यो।

समापन कार्यक्रममा वडा–५ का वडा अध्यक्ष मेघनाथ तामाङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए। अध्यक्ष तामाङका अनुसार नेतृत्व केवल पदमा सीमित नभई सकारात्मक सोच, व्यवहारिक आन्दोलन र समुदायलाई एकताबद्ध गर्ने क्षमतासँग प्रत्यक्ष सम्बन्धित हुन्छ। उनले वडामा सञ्चालन भइरहेका कौशल तथा क्षमता विकासका कार्यक्रमहरूले स्थानीय तहमा नेतृत्वको गुणस्तर बढाउने विश्वास पनि व्यक्त गरे।

समारोहमा अतिथिका रूपमा उपस्थित मिक्लाजुङ–३ का वडाध्यक्ष सन्तोष मगरले पछिल्लो समय सामाजिक सञ्जालमा जनप्रतिनिधि तथा सर्वसाधारणप्रति भइरहेका नकारात्मक टिप्पणी, गालीगलोज र चरित्रहत्या गर्ने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरे।
उनले भने –हाम्रो समाज कता गइरहेको छ ? यस्ता नकारात्मक व्यवहारले समाज निर्माण कसरी सम्भव हुन्छ ? त्यसैले यस्ता सकारात्मक सोच र नेतृत्व विकास सम्बन्धी तालिम अझै आवश्यक छन्।

त्यसैगरी मिक्लाजुङ–४ का वडाध्यक्ष बिशाल राईले पनि समापन सत्रमा आफ्ना धारणा व्यक्त गर्दै भने- नेतृत्व विकास, मानवीय मूल्य र जिम्मेवार सामाजिक व्यवहार नगरी कुनै पनि समुदाय दिगो रूपमा अगाडि बढ्न सक्दैन।

 

तालिममा मनोसामाजिक स्वास्थ्य, सकारात्मक सोच, व्यक्तित्व विकास, प्रभावकारी सञ्चार, समस्या–समाधान, टोली व्यवस्थापन र संघर्ष व्यवस्थापन जस्ता विषयहरू समेटिएका थिए।
तालिमको सहजीकरण मनोचिकित्सक तथा परामर्शकर्ता बालकृष्ण दास चौधरी र सञ्चारकर्मी एल.एन. गच्छदारले संयुक्त रूपमा गरेका थिए। दुवैले उदाहरणसहितको प्रस्तुति, समूहगत अभ्यास, वास्तविक सामाजिक चुनौतीका केस–स्टडी तथा संवादात्मक विधिमार्फत सहभागीहरूलाई सक्रिय बनाएका थिए।

उर्जाशील कृषि सहकारी संस्था लिमिटेडकी कोषाध्यक्ष बिष्णु कुमारी राईले तालिमले आफूहरूलाई वास्तविक जीवनमा प्रयोग गर्न सकिने सीख दिएको बताइन्।
उनले भनिन्-यो तालिम व्यावहारिक, जीवनउपयोगी र नेतृत्वमा आवश्यक रहेछ भन्ने महसुस भयो।

सहभागी राजनीतिक दलका युवा नेता सवीन राईले पनि तालिमबाट प्राप्त सिकाइका अनुभव बाँड्दै भने-यसले हाम्रो सोच परिवर्तन गरेको छ र समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा दिएको छ।

 

तालिमको संयोजन कार्यक्रम निर्देशक पार्वती गच्छदारले गरेकी थिइन्। उनले तालिम सञ्चालनको उद्देश्य, चुनौतिहरू र आगामी योजना बताउँदै भनिन् नेतृत्व सक्षम बनाउने कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य छ।

तालिममा वडा–५ का जनप्रतिनिधि, वडा कर्मचारी, विद्यालयका शिक्षक–विद्यार्थी, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय संघ–संस्थाका पदाधिकारी गरी उल्लेख्य संख्यामा सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *