राजकुमार ओझा : विद्यालयको कक्षाबाट सुरु भएको यात्रादेखि ‘म्यान अफ दि इलेक्सन’सम्म
एलएन गच्छदार / सुन्दरहरैंचा
मोरङको राजनीतिक भूगोलमा पछिल्ला दशकहरूमा निरन्तर आँट, अनुशासन र जनताको नजिकबाट उठेको एक नाम हो– राजकुमार ओझा। नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. ३ बाट सर्वाधिक मत प्राप्त गर्दै उनी ‘म्यान अफ दि इलेक्सन’ घोषित भएका छन्। तर ओझाको यात्रा केवल एक निर्वाचनको विजयमा सीमित हुँदैन – यो उनैले छानेको ‘जनताको बाटो’ हो, जुन उनी ४० वर्षअघि विद्यार्थी राजनीतिबाटै हिँड्न थालेका थिए।
कक्षाकोठाबाट सुरु भएको संघर्ष
वि.सं. २०४४ सालमा बेलबारीको भगवती माध्यमिक विद्यालयबाट ओझाको राजनीतिक चेतना अंकुरियो। अनेरास्ववियूका प्राम्भिक कार्यासमिति सचिवका रूपमा सुरु भएको जिम्मेवारी उनलाई नेतृत्व, संगठन र संघर्षका बाटोमा अघि बढाउने पहिलो ढोका थियो।
सालैपिच्छे जिम्मेवारी बढ्दै गए, अध्यक्ष, इलाका कमिटी सदस्य, क्षेत्रीय सचिव, सुकुना बहुमुखी क्याम्पसको ३ कार्यकाल निर्वाचित स्ववियू सभापति, अनेरास्ववियु मोरङ अध्यक्ष, पूर्वाञ्चल प्रमुख, केन्द्रीय सदस्य हुँदै उनले विद्यार्थी राजनीतिमा पहिचान बने। उनी जति भूमिकामा पुगे, उति नै सरल हुँदै गए, यही गुणले उनी विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय युवाबीच लोकप्रिय हुँदै गए।
संगठनमा स्थिरता र निर्णायक भूमिका
२०५० मा एमाले पार्टी सदस्यता लिँदै उनले थप ठूलो चुनौती रोजे, संगठनलाई बलियो बनाउने। इन्द्रपुरदेखि दुलारी, सुकुनादेखि कोशीहरैचासम्म उनले संगठन विस्तार र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका निभाए।
पार्टीमा जब-जब संकट आयो, केही नेताहरू आँगनै छाड्दै जाँदा ओझा भने पार्टीको पक्षमा सतिसाल झैँ उभिए । संगठन टुट्न नदिने दृढता र कुशल राजनीतिक संस्कारले उनलाई ‘मोरङको संगठनात्मक आधारस्तम्भ’ मानिन थालेको हो।
जनताको घर–घरमा पुगेको नेतृत्व
ओझाको व्यक्तित्वलाई बुझ्न आवश्यक छ– उनको राजनीति सडकमा होइन, घर–घरमा बन्छ।
कहिले उपचार खर्चका लागि सहयोगमा दौडने, कहिले विद्यालय सुधारका लागि संघर्ष गर्ने, कहिले विवाद समाधानका लागि गाउँको चौतारोमै बस्ने—यही बानीले उनलाई सर्वसाधारण, युवा र विद्यार्थीमध्ये अत्यन्त प्रिय बनाएको छ ओझा धेरै नेताजस्तै भाषणमा भन्दा भेटघाटमा बढी विश्वास गर्छन्। उनि सुन्दरहरैंचा मेलमिलाप केन्द्रको संस्थापक संयोजक पनि हुन्। त्यहाँ रहँदा पनि उनले जनताका विभिन्न समस्याहरू न्यायोचित ढङ्गले सम्बोधन गरे। यही शैलीले उनलाई “जनताको समस्या समाधान गर्ने नेता” को पहिचान दियो।
प्रदेशसभा हुँदै मन्त्रीसम्मको यात्रा
२०७४ को प्रदेशसभा निर्वाचनमा मोरङ ३(२) बाट विजयी भएसँगै उनको राजनीतिक यात्रा नयाँ उचाइमा पुग्यो। न्याय–प्रशासन तथा विधायन समितिमा सक्रिय भूमिका, १५ महिनासम्म एमाले संसदीय दलको सचेतक, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट सदस्य, पूर्वाञ्चल विश्वविद्यालयको सिनेट सदस्य र पछि उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री- यी सबै भूमिकाले उनी केवल पार्टीकै होइन, प्रदेशको विकास र नीति निर्माणमा समेत प्रभावशाली पात्र बने।
पार्टीभित्र पुनः उभार
२०७८ पछि पार्टीभित्र धेरै उतार–चढाव आए। कतिले बाटो बदल्ने निर्णय लिए, कतिले सक्रियता घटाए। तर ओझा फेरि पनि संगठनमै टिके। ३९ मतले जिल्ला अध्यक्ष पद गुमाउनुपर्दा पनि उनी निराश भएनन्– बरु झनै ढुक्कले काममा जुटे। २०८० को प्रदेश कमिटी निर्वाचनमा प्रचण्ड मतले जितिएपछि फेरि उनी नेतृत्वको मूलसरोकारमा फर्किए। २०८२ साल मङ्सिर १३ गते शनिबार नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयनमा मोरङ क्षेत्र नं ३ बाट १२९७ मतसहित पहिलो स्थानमा निर्वाचित हुन सफल भए ।
किन ओझा ‘म्यान अफ दि इलेक्सन’?
उनको जित केवल मतसंख्याको जित होइन, विश्वासको जित हो। जनताप्रति निरन्तर प्रतिबद्धता, सहज व्यवहार, संयमित राजनीतिक शैली र दशकौँको अनुभवले उनलाई पार्टीभित्र अत्यन्त लोकप्रिय बनाएको छ। त्यसैले मोरङमा अहिले एक आवाज बलियोसँग सुनिन थालिएको छ- “ ओझामा भएको कार्य-कौशलता र कुशल संगठक जस्ता गुणहरूको उचित मूल्यांकन गरी केन्द्रमा उपयुक्त जिम्मेवारी दिनुपर्छ।”
यात्रा अझै जारी छ…
राजकुमार ओझाको राजनीतिक यात्रा अझै पनि गतिशील छ। उनी भन्छन्- “राजनीति पदका लागि होइन, परिवर्तनका लागि हो।”
यही विचार, त्यही सरलता र त्यही जनसंपर्कले उनलाई अझै थप जिम्मेवारीका दिशामा लैजाँदैछ। कलिलो उमेरमा उठेको अंकुर आज विशाल रुख जस्तै उभिएको छ- रुखजस्तै—छायाँ दिन सक्ने, सहारा दिन सक्ने, र आफ्नै धरातलमा गहिरोसँग जरा गाडेर उभिरहने
