राधेश्याम सेवा ट्रष्ट गौशला वृद्धावन -आस्थाको स्वर्ग, संस्कृतिको धरोहर
एलएन गच्छदर
सुन्दरहरैंचा (मोरङ) – सुन्दरहरैंचा नगरपालिका–५ स्थित राधेश्याम सेवा ट्रष्ट गौशला वृद्धावन यतिखेर धार्मिक भव्यता र आध्यात्मिक उल्लासको केन्द्र बनेको छ। यहाँको मुख्य आकर्षण विश्वकै अग्लो हिन्दू आस्थाको प्रतीक -राष्ट्रिय जनावर गाईको विशाल प्रतिमूर्तिले यस स्थलको धार्मिक गरिमा थप उचालेको छ। यसले न केवल स्थानीय स्तरमा, तर प्रदेश र राष्ट्रभरका श्रद्धालु तथा पर्यटकलाई आकर्षित गरिरहेको छ।
भाद्र १ गतेदेखि यहाँ विशेष रथयात्रा सुरु हुँदैछ। रथयात्रासँगै शोभायात्रा, भजन–कीर्तन, प्रवचन, र रातभरको जाग्राम कार्यक्रम हुने तयारी तीव्र गतिमा भइरहेको छ। कृष्ण जन्माष्टमीको अवसरमा वृद्धावन क्षेत्र फूल, बत्ती र रंगीन सजावटले स्वर्गीय वातावरणमा परिणत हुनेछ।
राधेश्याम सेवा ट्रष्टका संरक्षक दिनबन्धु शास्त्री महाराजका अनुसार, गौशला वृद्धावन केवल पूजा-आराधनाको स्थल मात्र होइन, पीडित मनको सहारा र धार्मिक चेतनाको केन्द्र हो। यहाँ दैनिक भजन-कीर्तन, प्रवचन तथा आध्यात्मिक सेवा सञ्चालन हुन्छ। साथै, जेष्ठ नागरिक भवन निर्माण कार्य पनि अगाडि बढाइएको छ, जसले वृद्धहरूको हेरचाह र सम्मानको वातावरण निर्माण गर्नेछ।
हिन्दू धर्म संस्कृति संरक्षण र विस्तारका लागि यहाँ छुट्टै विद्यालय स्थापना गरिएको छ। यस विद्यालयमार्फत बालबालिकालाई वैदिक शिक्षा, संस्कृत भाषा र धार्मिक मूल्यबोध प्रदान गरिन्छ। ट्रष्टले गाईको संरक्षण, स्थानीय संस्कृतिको प्रवर्द्धन, र धार्मिक पर्यटनको विकासलाई एकैसाथ अघि बढाउने लक्ष्य लिएको छ।
धार्मिक अगुवाहरूको भनाइमा, यस्ता पवित्र स्थलहरूलाई सुरक्षित राख्नु केवल धार्मिक कर्तव्य मात्र होइन, भविष्य पुस्ताप्रतिको अमूल्य जिम्मेवारी पनि हो। धार्मिक आस्था र सांस्कृतिक धरोहरमाथि भइरहेका चुनौतीहरूको सामना गर्न सामूहिक प्रयास आवश्यक रहेको उनीहरू बताउँछन्।
गौशला वृद्धावन आज सुन्दरहरैंचा मोरङ मात्र होइन, राष्ट्रकै गहना बनेको छ। यहाँको पवित्रता, भव्यता, र सांस्कृतिक महत्त्वले यसलाई नेपालको धार्मिक पर्यटनको गौरवमय गन्तव्य बनाइरहेको छ। श्रद्धालुहरूको भीड, भजन–कीर्तनको मधुर धुन, र आत्मिक शान्तिको वातावरण यहाँ आउनु सबैका लागि अविस्मरणीय अनुभव बन्छ।
