अशेश्वर पेश्कार स्मृति कपको उपाधि विराट स्पोर्टस एकेडेमीलाई

सुन्दरहरैंचा (मोरङ) — सुन्दरहरैंचा नगरपालिका वडा – ४ बडहरामा   युवा विकास स्पोर्टिङ क्लबको आयोजनामा सम्पन्न पहिलो अशेश्वर पेश्कार स्मृति कप फुटबल टुनामेन्ट प्रतियोगितामा विराटनगरस्थित विराट स्पोर्टस एकेडेमीले उपाधि हात पारेको छ।

क्लब अध्यक्ष रोशन चौधरीको सभाध्यक्षतामा सम्पन्न फाइनल खेलमा विराट स्पोर्टस एकेडेमीले सुन्दरहरैंचाको खोक्सी युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो। खेलभर आक्रामक प्रदर्शन गरेको विराट स्पोर्टस एकेडेमीले प्रारम्भदेखि नै बलमा पकड जमाएको थियो। दर्शकहरूले निकै प्रतिस्पर्धात्मक खेलको मजा लिएका थिए।

खेलमा विराट स्पोर्टस एकेडेमीले तीन गोल गर्न सफल हुँदा खोक्सी युथ क्लबले कुनै पनि गोल फर्काउन सकेन। यससँगै, विराट स्पोर्टस एकेडेमी पहिलो संस्करणकै विजेता बन्दै ट्रफी आफ्नो पक्षमा पार्न सफल भयो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू मध्ये बेष्ट प्लेयर सन्दीप राई (विराट स्पोर्टस एकेडेमी), हाई स्कोरर : रुपेश माझी (गछिया युवा समूह) र बेष्ट गोलरक्षक प्रज्वल श्रेष्ठ (विजेता विराट स्पोर्टस एकेडेमी) लाई विशेष सम्मान गरिएको थियो।

विजेता विराट स्पोर्टस एकेडेमीले ५० हजार नगद, मेडल र ट्रफी हात पार्यो भने उपविजेता खोक्सी युथ क्लब, सुन्दरहरैंचाले ३० हजार नगद, मेडल र ट्रफी प्राप्त गर्‍यो। पुरस्कार वितरण वडा नं. ४ का अध्यक्ष कैलाश बस्नेत र प्रमुख अतिथि नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का सभापति तथा समाजसेवी देबराज तामाङले  गरेका थिए। यस प्रतियोगिता दिवंगत समाजसेवी स्व. अशेश्वर पेश्कारको सम्झनामा आयोजना गरिएको हो। उहाँको सम्झनामा आयोजित पहिलो संस्करणमै विराट स्पोर्टस एकेडेमी विजयी बन्न सफल भएको छ।

कार्यक्रममा स्व. अशेश्वर पेश्कारका छोरा सुरेन्द्र पेश्कार लगायत परिवारका सदस्यहरूको प्रमुख सहयोगी भूमिका रहेको थियो। सो अवसरमा स्थानीय समाजसेवी लेहरू पेश्कारले स्व. अशेश्वर पेश्कारको जीवनी र समाजप्रतिको योगदानमाथि प्रकाश पार्दै उहाँलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।

आयोजक युवा विकास स्पोर्टिङ क्लबले प्रतियोगितामार्फत युवामा खेलकुदको महत्व, अनुशासन र सहकार्यको भावना विकास गर्ने उद्देश्य राखिएको जनाएको छ। क्लबका पदाधिकारीहरूका अनुसार, आगामी दिनमा यस प्रतियोगितालाई वार्षिक रूपमा निरन्तरता दिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *