गैरी टोल युवा क्लबद्वारा दोस्रो नकआउट फुटबल प्रतियोगिता सुरु
सुन्दरहरैंचा
गैरी टोल युवा क्लब सुन्दरहरैंचा–४ को आयोजनामा दोस्रो नकआउट फुटबल प्रतियोगिता भव्य रूपमा सुरु भएको छ।
उद्घाटन खेलमा सिद्धार्थ युवा समाज क्लबले प्रभावशाली खेल प्रदर्शन गर्दै पूर्वाञ्चल युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गरेको छ। यस जितसँगै सिद्धार्थ युवा समाज क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने विशाल आले मगरलाई ‘म्यान अफ द म्याच’ घोषित गरिएको थियो।
प्रतियोगिता अन्तर्गत भोलिको खेलमा आयोजक धाबी एफसी र चर्च एफसी सलकपुर बीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ।
उद्घाटन कार्यक्रमको सभाध्यक्षता क्लबका अध्यक्ष रोहन चौधरीले गर्नुभयो भने प्रमुख अतिथि निवर्तमान वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्नुभयो। सो अवसरमा लायन्स क्लब अफ गोठगाउँ सिटीका संस्थापक अध्यक्ष अनुरोध साह, परोपकार महिला समाजकी निरु बन्जगाईं, गछिया खानेपानी तथा सरसफाइ संस्थाकी सदस्य रेखा चौधरी, युवा समाजसेवी तथा व्यवसायी मनोज राई र सरोज पौडेल, थारु सङ्ग्रहालयका अध्यक्ष चिन्टुलाल चौधरी, गैरी टोल विकास संस्थाका अध्यक्ष दुर्गा चौधरीलगायतको विशेष उपस्थिति रहेको थियो।
मुख्य रेफ्री मुकेश चौधरी र असिस्टेन्ट रेफ्रीहरू राजा सुब्बा तथा दिनेश साहीको टोलीले खेल सञ्चालन गरेका थिए।
फुटबल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका प्रमुख अतिथि शैलेन्द्र श्रेष्ठले आफ्नो मन्तव्यमा भने, “यस किसिमका प्रतियोगिताले युवामा खेलप्रति रुचि बढाउनुका साथै सामाजिक एकता र आपसी भाइचारालाई पनि मजबुत बनाउँछ । गैरी टोल युवा क्लबले गरेको यो पहल प्रशंसनीय छ,” भन्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो।


