दुलारी मल्टिपल इंगलिस स्कूलद्वारा जेष्ठ अभिभावक सम्मान
एलएन गच्छदार / फागुन १५ गते
सुन्दरहरैचा नगरपालिका वडा नं. ४, बलियामा रहेको दुलारी मल्टिपल इंगलिस स्कूलले आफ्नो वार्षिक उत्सवको अवसरमा जेष्ठ अभिभावक सम्मान कार्यक्रम सम्पन्न गरेको छ। दुई दिने विशेष कार्यक्रममा ९३ जना जेष्ठ अभिभावकहरूलाई दोसल्ला ओढाएर सम्मान-पत्र प्रदान गर्दै सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कैलाश वस्नेत तथा विद्यालयका प्रिन्सिपल टिका पराजुलीले सम्मान प्रदान गरेका थिए।
सो अवसरमा विद्यालयले १ वर्षभित्र विद्यार्थीहरूले गरेका विभिन्न शैक्षिक, सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई नगद, प्रमाण-पत्र तथा पुरस्कार प्रदान गरेको थियो।
विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले नृत्य, गायन, कविता वाचन लगायत विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो।
विद्यालय प्रशासनका अनुसार कार्यक्रम भोलिसम्म जारी रहनेछ। भोलि विशेष रूपमा महिला अभिभावकबीच ह्वीलचेयर दौड र पुरुष अभिभावकबीच हण्डीफोर प्रतियोगिता समेत आयोजना गरिने जनाइएको छ।
विद्यालयले अभिभावक, विद्यार्थी र शिक्षकहरूको सहकार्यमा शिक्षा मात्र नभई अतिरिक्त क्रियाकलापलाई पनि प्रवर्द्धन गर्ने प्रयास गर्दै आएको बताएको छ।
सोही अवसरमा विद्यालयमा अध्ययनरत प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीहरूलाई नगद, प्रमाण-पत्र तथा मंडलद्वारा पुरस्कृत गरिएको थियो।
विद्यालयका कार्यकारी प्रमुख टीकाराम दाहालको अध्यक्षतामा सञ्चालित कार्यक्रममा विद्यार्थीहरूद्वारा मनोरञ्जनात्मक तथा सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो। कक्षा नर्सरीदेखि कक्षा १० सम्मका ८२३ जना विद्यार्थीहरू विभिन्न विद्यामा पुरस्कृत भएका थिए।
विद्यालय प्रशासनका अनुसार यस प्रकारका सम्मान तथा पुरस्कार कार्यक्रमले समाजमा सकारात्मक प्रेरणा दिने विश्वास गरिएको छ।
