सिद्धार्थको ३०औं अभिभावक दिवस : “हजुरबुबाआमासँग नातिनातिना कार्यक्रमसहित उत्सवमय वातावरण
एलएन गच्छदार / सुन्दरहरैंचा
सिद्धार्थ सेकेण्डरी स्कुलको ३०औं अभिभावक दिवस अन्तर्गत तेस्रो दिन आज विविध आकर्षक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। विद्यार्थीहरूको सिर्जनशीलता र क्षमताको प्रदर्शन गर्ने उद्देश्यले विद्यालयले सांस्कृतिक कार्यक्रम, पुरस्कार तथा छात्रवृत्ति वितरण, साथै विज्ञान तथा गणित प्रदर्शनीको आयोजना गरिने छ।
कार्यक्रमलाई थप विशेष बनाउन रैथाने खानाका स्टलहरू, विज्ञान, गणित तथा होटल म्यानेजमेन्टसम्बन्धी प्रदर्शनीहरू सञ्चालन गरिएको छ। मनोरञ्जनात्मक गतिविधिहरूलाई प्रोत्साहन गर्न सेल्फी खिच्नका लागि आकर्षक स्थानहरू तथा घुम्नका लागि सुन्दर गार्डेनहरू तयार पारिएका छन्, जसले एक्स्पोको झल्को दिन्छ।
विद्यालयका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतका, यस अभिभावक दिवसले विद्यार्थीहरूको प्रतिभा पहिचानका साथै उनीहरूलाई प्रेरित गर्ने लक्ष्य लिएको छ। अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझ भव्य बनाएको छ।
सिद्धार्थ विद्यालयले विशेष कार्यक्रम “हजुरबुबा–हजुरआमासँग नातिनातिना” आयोजना गर्दै हजुरबुबा–हजुरआमाको सम्मान तथा पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ। कार्यक्रममा नातिनातिनाहरूले आफ्ना हजुरबुबा–हजुरआमासँग समय बिताउने अवसर पाएका मात्र होइन, उनीहरूलाई विशेष सम्मानसमेत प्रदान गरिने प्रिन्सिपल बस्नेतले बताए ।
विद्यालयले संस्कारसहितको शिक्षामा विशेष जोड दिँदै प्रविधिसहितको आधुनिक शिक्षण पद्धतिको विकासलाई अघि बढाइरहेको छ। बुधबार दोस्रो दिनको कार्यक्रम उदघाटन गर्दै प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख जीवन गडतौलाले शिक्षाले केवल पाठ्यक्रममा सीमित नभई अतिरिक्त क्रियाकलापबाट समेत धेरै ज्ञान हासिल गर्न सकिने उल्लेख गरे। उनले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई व्यावहारिक जीवनसँग जोड्न मद्दत गर्ने भएकाले अत्यन्त प्रभावकारी हुने धारणा व्यक्त गरे।
विद्यालय प्रशासनका अनुसार, संस्कारयुक्त शिक्षासँगै नवीनतम प्रविधिमार्फत अध्ययन अध्यापनलाई अझ प्रभावकारी बनाउने प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

विद्यालयका संस्थापक प्रिन्सिपल बस्नेतले भोलि शुक्रबारको विशेष आकर्षण “सिद्धार्थ आइडल – २०८१” हुनेछ, जसले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट अवसर प्रदान गर्नेछ।
यस दिन कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, पुरस्कार तथा छात्रवृत्ति वितरण, रमाइलो खेल, परियोजना प्रदर्शन, शेफ प्रतियोगिता, विज्ञान, गणित तथा सांस्कृतिक प्रदर्शनीमा भाग लिनेछन्।
विद्यालयले विद्यार्थीहरूलाई सिर्जनशीलता र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न उत्प्रेरित गर्न यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ। अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागितासहित भोलिको कार्यक्रम झनै उत्साहजनक र स्मरणीय बन्ने अपेक्षा गरिएको छ।




