लागुऔषध कारोबार गर्ने माथि निर्मम बन्दै कोशी प्रहरी : एकै दिन १२ जना पक्राउ
योगेन्द्र योगी
विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयहरुले लागुऔसध कारोबारी तथा ओसारपसार गर्ने माथि कारबाही तीव्र पारेसँगै एकै दिन १२ जनालाई लागुऔसधसहित पक्राउ गरेको छ। झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय राजेश मादेन, २६ बर्षीय राकेस मादेन, मन्जिल लिम्बु, ३९ बर्षीय तिलक गुरुङ र २८ बर्षीय सरोज बस्नेतको साथबाट ४ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता भीम बहादुर दाहालले जानकारी दिए ।
त्यस्तै लागुऔषध नियन्त्रण ब्युरो काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले इलामको सुर्योदय नगरपालिका-८ घर भई हाल बुद्धशान्ती गाँउपालिका-४ मा बस्दै आएका २१ बर्षीय पञ्चसिङ तामाङ र ४० बर्षीय तारानिधी घिमिरेलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
यसैगरी,इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाको शिवशताक्षी नगरपालिका-२ का २६ बर्षीय राजेश लिम्बु, कमल गाँउपालिका-५ का २२ बर्षीय राजु धिमाल, शिवसताक्षी-३ का १९ बर्षीय एन्जील लिम्बुलाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल २६० क्यापसुल सहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता दाहालले बताए ।
त्यसैगरी अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी टोलीले धरान-१९ का १९ बर्षीय समिर परियारलाई ट्रामाडोल ५०० क्याप्सुल र डिकोलिक ४८० ट्याब्लेट औषधी सहित पक्राउ गरेको हो भने जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले बुप्रिनोर्फिन, फेनार्गन र डाइजेपाम गरी जम्मा ३६ एम्पुल औषधी सहित त्रियुगा- १२ की २३ बर्षीया सपना राई र त्रियुगा- १० का १८ बर्षीय अभिशेक थापा मगरलाई पनि पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।पछिल्लो समय कोशी प्रहरीले लागुऔसध कारोबार गर्नेहरु माथि थप कडाई गरिरहेको छ।
