सुन्दरहरैंचा छठ पुजा सेवा समितिको भव्य तयारी हुँदै

सूर्य उपासनाको पर्व छठ शुक्रबारदेखि सुरु भएको छ। पर्वको प्रारम्भ बर्तालुले ‘नहाय–खाय’ विधिबाट गर्छन ।

कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ विधि गरेका हुन्। निरामिष (सात्विक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थाल्ने परम्परा छ।

मिथिला क्षेत्रमा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन्। छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन्।
त्यसैगरी मोरंग सुन्दरहरैंचा छठ पुजा सेवा समितिले वडा नं. १२ मा किस्ती खोला किनारामा घाट निर्माण, ब्यबस्थापन तथा सरसफाई कार्य गरी छठ पुजाको भब्य तयारीमा जुटेका छन्।

सेवा समितिका अध्यक्ष बिमला शर्माका अनुसार बि.स २०५२ सालमा २ घर परिवारबाट सुरु गरेको छठ पुजा अहिले आएर छठ पुजा सेवा समिति नै विधिवत दर्ता गरी ब्यबस्थित तरिकाले अगाडी बढेको बताईंन। शर्माका अनुसार अहिले ३५ घाट निर्माण गरेका छौं, एक घाटको १ हजार १ सय ५० शुल्क लिएका छौँ। डाली दिने समेत गरी ३ सय सम्म परिवार आवद्ध छन्।

त्यसै गरी घाट ब्यबस्थापनमा सुन्दरहरैंचा नगरपालिका र वडा कार्यालयले समेत समन्वय गरेको सो वडा जनप्रतिनिधि दिलिप प्रसाद दाहालको भनाई छ। दाहालका अनुसार बेलबारी र सुन्दरहरैंचा नगरपालिका बीच किस्ती खोलाको सिमाना छुट्याएर छठ पुजाका लागि ब्यबस्थित घाट निर्माण गर्न वडाले पहल गर्ने बताए।

पर्वमा महिला/पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको पाइन्छ। कात्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनीतो खानेछन्। यो विधिलाई ‘नहाय–खाय’ भनिन्छ।

श्रद्धा, निष्ठा र आत्मिक शुद्धीलाई अत्यन्त महत्त्व दिइने छठमा पूजा प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्ठान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिधिंएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ। यी परिकार पकाउन चुल्हो पनि नयाँ प्रयोग गरिन्छ।

पर्वमा सूर्यलाई अर्घ्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्वविशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन्।

बिहीबार कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ र आज (चौथी तिथि) ‘नहाय–खाय’ विधि गर्ने बर्तालुले शनिबार निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन्। यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ।

बर्तालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर प्रसाद राखिएको डाली हातमा उठाइ सूर्यलाई देखाइन्छ। यो व्रत आइतबार सम्पन्न गरिने छ। यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ। यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएर देखाइएपछि छठ सम्पन्न हुने परम्परा छ। यसपालि छठको समापन सोमबार बिहान सूर्योदयसँगै गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *