सुन्दरहरैंचामा ३२औँ विश्व आदिवासी दिवस भव्य रूपमा सम्पन्न
एलएन गच्छदार | सुन्दरहरैंचा
मोरङको सुन्दरहरैंचामा ३२औँ विश्व आदिवासी दिवस विभिन्न जातजातिका मौलिक झाँकी, र्याली तथा सांस्कृतिक प्रस्तुतिसहित भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल आदिवासी जनजाति महासंघ सुन्दरहरैंचाको आयोजनामा सुन्दरहरैंचा नगरपालिका–७ स्थित गछिया खेलमैदानमा आयोजित कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईले गरेका थिए। कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति महासंघ सुन्दरहरैंचाका अध्यक्ष सुमन याख्खाले गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अजम्बर राईले आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षणसँगै अधिकार सुनिश्चित गर्न राज्यका सबै तहबाट आवश्यक पहल हुनुपर्नेमा जोड दिए।
कार्यक्रमका सभाध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ सुन्दरहरैंचाका अध्यक्ष सुमन याख्खाले आदिवासी जनजातिको मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षणका लागि समुदाय स्वयं सचेत र संगठित हुनुपर्ने बताए। उनले नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्परासँग जोड्दै आदिवासी जनजातिको अधिकार तथा समान सहभागिताका लागि निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले आदिवासी जनजाति समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा स्थानीय तहको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिन्।
कार्यक्रममा पूर्वप्रदेश सांसद लोकप्रसाद संग्रौला, नेपाल आदिवासी जनजाति महासंघ सुन्दरहरैंचाका सल्लाहकार देवराज तामाङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
दिवसको अवसरमा राष्ट्रिय कलाकार बबिना किराँती, ‘भ्वाइस किड्स’की फाइनलिस्ट कबिना राईलगायतका कलाकारको सांगीतिक प्रस्तुति रहेको थियो। विभिन्न आदिवासी जनजाति समुदायका मौलिक संस्कृति झल्काउने वृहत् झाँकी तथा र्यालीसमेत प्रस्तुत गरिएको थियो।
सुन्दरहरैंचामा रहेका गुरुङ, मगर, तामाङ, राई, लिम्बू, सुनुवार, नेवार, थारू, राजवंशी, धिमाल, माझी, बोटे, दनुवारलगायत विभिन्न समुदायले आफ्ना मौलिक भाषा, संस्कार, संस्कृति र परम्परालाई निरन्तरता दिँदै आएका छन्।
विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा सम्मानका लागि ऐक्यबद्धता व्यक्त गरिएको छ। कार्यक्रममा विविधताभित्रको एकता, समान सहभागिता र बहुसांस्कृतिक पहिचानको संरक्षण गर्नुपर्नेमा जोड दिइएको थियो।
