विविधतामा एकताको उत्सव : सुन्दरहरैंचामा विश्व आदिवासी दिवसको रौनक
एलएन गच्छदार | सुन्दरहरैंचा
मोरङको सुन्दरहरैंचा–७ स्थित गछिया खेलमैदान आइतबार विभिन्न जातजातिका मौलिक भेषभूषा, झाँकी, बाजागाजा र सांस्कृतिक प्रस्तुतिले रंगीन बन्यो। अवसर थियो—३२औँ विश्व आदिवासी दिवस।
नेपाल आदिवासी जनजाति महासंघ सुन्दरहरैंचाको आयोजनामा भएको कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायले आफ्ना मौलिक भाषा, संस्कृति, संस्कार र परम्परा झल्काउने झाँकी तथा र्याली प्रस्तुत गरे। एउटै मैदानमा फरक–फरक समुदायका संस्कृति र पहिचान एकसाथ प्रस्तुत हुँदा कार्यक्रम ‘अनेकतामा एकता’को जीवन्त उदाहरण बनेको थियो।
कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईले गरेका थिए। कार्यक्रममा उनले आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा र मौलिक पहिचान नेपालको साझा सम्पत्ति भएको बताए। पहिचान र संस्कृतिको संरक्षणसँगै आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्न राज्यका सबै तहबाट आवश्यक पहल हुनुपर्नेमा उनले जोड दिए।
कार्यक्रमका सभाध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ सुन्दरहरैंचाका अध्यक्ष सुमन याख्खाले आदिवासी जनजातिको पहिचान संरक्षण केवल उत्सव मनाउने विषय नभई पुस्तान्तरणको विषय भएको बताए।
उनले राष्ट्रिय मूलधारमा रहेर पनि आफ्नो मौलिक पहिचानलाई जोगाउँदै अघि बढ्नुपर्नेमा जोड दिए।
“अनेकताभित्र एकताको भावनालाई कायम राख्दै हाम्रो भाषा, संस्कृति, परम्परा र पहिचानलाई पुस्तौँसम्म हस्तान्तरण गर्नुपर्छ। हामीले नयाँ पुस्तालाई आफ्नो संस्कृति हस्तान्तरण गर्न जानेनौँ भने भोलि हाम्रो मौलिक पहिचान नै संकटमा पर्न सक्छ,” याख्खाले भने।
नेपाल आदिवासी जनजातिकै विविधताका कारण बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक देश बनेको उल्लेख गर्दै उनले यही विविधता नेपालको शक्ति र गौरव भएको बताए। आदिवासी जनजातिको अधिकार, समान सहभागिता र पहिचानका लागि समुदाय स्वयं सचेत र संगठित हुनुपर्ने उनको भनाइ थियो।
सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले स्थानीय तहले आदिवासी जनजातिको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समुदायसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने बताइन्।
कार्यक्रममा पूर्वप्रदेश सांसद लोकप्रसाद संग्रौला तथा नेपाल आदिवासी जनजाति महासंघ सुन्दरहरैंचाका सल्लाहकार देवराज तामाङलगायतले आदिवासी जनजातिको अधिकार, पहिचान र सांस्कृतिक संरक्षणको आवश्यकतामाथि प्रकाश पार्दै शुभकामना व्यक्त गरेका थिए।
दिवसलाई सांस्कृतिक रूपमा थप आकर्षक बनाउन राष्ट्रिय कलाकार बबिना किराँती तथा ‘भ्वाइस किड्स’की फाइनलिस्ट कबिना राईलगायतका कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए। कलाकारका प्रस्तुतिमा दर्शकले मनोरञ्जनसँगै स्थानीय प्रतिभाप्रतिको उत्साहसमेत देखाएका थिए।
कार्यक्रमको अर्को आकर्षण थियो—विभिन्न जातजातिका मौलिक झाँकी तथा र्याली। गुरुङ, मगर, तामाङ, राई, लिम्बू, सुनुवार, नेवार, थारू, राजवंशी, धिमाल, माझी, बोटे, दनुवारलगायत समुदायले आ–आफ्नो मौलिक भेषभूषा, संस्कार, संस्कृति र परम्परा प्रदर्शन गरे।
फरक भाषा, फरक भेषभूषा र फरक संस्कृतिका समुदाय एउटै उत्सवमा सहभागी हुँदा सुन्दरहरैंचाको बहुसांस्कृतिक स्वरूप झल्किएको थियो। झाँकीमा देखिएका मौलिक पोसाक, परम्परागत बाजागाजा र सांस्कृतिक प्रस्तुतिले नयाँ पुस्तालाई आफ्नो मौलिकतासँग जोड्ने सन्देशसमेत दिएको थियो।
विश्व आदिवासी दिवस केवल एउटा समुदायको पर्व होइन, नेपालको बहुसांस्कृतिक पहिचानको उत्सवका रूपमा स्थापित हुँदै गएको छ। सुन्दरहरैंचामा आयोजित कार्यक्रमले पनि यही सन्देश दिएको छ—पहिचान फरक हुन सक्छ, संस्कृति फरक हुन सक्छ, भाषा फरक हुन सक्छ; तर अनेकताभित्रको एकता नै नेपालको मौलिक शक्ति हो।
आफ्नो भाषा, संस्कृति, संस्कार र परम्परा संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न सके मात्रै आदिवासी जनजातिको पहिचान जीवन्त रहनेछ। यही प्रतिबद्धता र उत्साहका साथ सुन्दरहरैंचामा मनाइएको ३२औँ विश्व आदिवासी दिवसले पहिचान संरक्षणसँगै सहअस्तित्व, समान सहभागिता र राष्ट्रिय एकताको सन्देश छाडेको छ।




