नेशनल प्याब्सनको फोनिक्स ध्वनि प्रशिक्षण : २०० बढी शिक्षक–शिक्षिकाले पाए नयाँ सीप
सुन्दरहरैँचा, मोरङ ।
अंग्रेजी भाषा सिकाइमा सही उच्चारण र ध्वनि पहिचानलाई प्रभावकारी बनाउन मोरङको विराटचोकमा शिक्षक–शिक्षिकाका लागि विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल अर्थात् नेशनल प्याब्सन कोशी प्रदेशको आयोजनामा विराटचोकस्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित ‘फोनिक्स ध्वनि प्रशिक्षण’ कार्यक्रममा झापा, मोरङ र सुनसरीका विभिन्न निजी विद्यालयमा कार्यरत २०० भन्दा बढी शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो।
कार्यक्रम नेशनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष कमल खनालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगर उपप्रमुख अकली चौधरी प्रमुख अतिथिका रूपमा तथा नेशनल प्याब्सन केन्द्रीय सदस्य नारायण ढकाल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
प्रशिक्षणमा प्रशिक्षक राजेन्द्रबहादुर थापाले सहभागी शिक्षक–शिक्षिकालाई अंग्रेजी भाषाको सही उच्चारण, अक्षर र ध्वनिबीचको सम्बन्ध, शब्द उच्चारण गर्ने विधि तथा विद्यार्थीलाई सरल र प्रभावकारी ढंगले फोनिक्स सिकाउने तरिकाबारे प्रशिक्षण दिएका थिए।
नेशनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष कमल खनालले अंग्रेजी भाषा शिक्षणमा सही उच्चारण र ध्वनि पहिचानको महत्व बढ्दै गएको भन्दै शिक्षकलाई आधुनिक शिक्षण विधिसँग जोड्न प्रशिक्षण आयोजना गरिएको बताए।
उनका अनुसार शिक्षकको क्षमता अभिवृद्धि भएमा त्यसको प्रत्यक्ष प्रभाव विद्यार्थीको सिकाइ उपलब्धिमा पर्ने भएकाले यस्ता व्यावहारिक तालिमलाई प्राथमिकता दिइएको हो।
प्रमुख अतिथि नगर उपप्रमुख अकली चौधरीले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको क्षमता विकास आवश्यक रहेको बताइन्। समयअनुसार आफूलाई अद्यावधिक गर्दै नयाँ ज्ञान र प्रविधिसँग जोडिन शिक्षकलाई उनले आग्रह गरिन्।
त्यस्तै, नेशनल प्याब्सन केन्द्रीय सदस्य नारायण ढकालले अंग्रेजी भाषाको आधारभूत सीप विकासमा फोनिक्ससम्बन्धी ज्ञान महत्वपूर्ण रहेको बताए। नयाँ शिक्षण विधिको प्रयोगले विद्यार्थीलाई सिकाइप्रति थप आकर्षित गर्न सकिने उनको भनाइ थियो।
प्रशिक्षणमा सहभागी शिक्षक–शिक्षिकाले कार्यक्रम निकै उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले अंग्रेजी शब्दको सही उच्चारण, ध्वनि पहिचान र विद्यार्थीलाई सहज ढंगले अंग्रेजी सिकाउने नयाँ तरिका सिक्न पाएको बताएका छन्।
शिक्षकको एउटा नयाँ सीपले कक्षाकोठाका सयौँ विद्यार्थीको सिकाइमा परिवर्तन ल्याउन सक्छ। यही उद्देश्यसहित नेशनल प्याब्सन कोशी प्रदेशले आगामी दिनमा पनि शिक्षकको पेशागत क्षमता विकासमा केन्द्रित विभिन्न तालिमलाई निरन्तरता दिने जनाएको छ।
शिक्षक सक्षम बने, सिकाइ प्रभावकारी बन्छ—यही सोचका साथ आयोजित फोनिक्स ध्वनि प्रशिक्षणले शिक्षकको सीपसँगै विद्यार्थीको अंग्रेजी सिकाइलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
