सुरक्षित बालबालिका, जिम्मेवार विद्यालय : हिमालय इङलिस स्कुलमा साइबर सुरक्षा र बाल संरक्षणबारे प्रशिक्षण
सुन्दरहरैँचा, मोरङ । प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिकाको दैनिकी डिजिटल संसारसँग जोडिँदै गएको छ। पढाइदेखि मनोरञ्जन र सामाजिक सम्बन्धसम्म मोबाइल तथा इन्टरनेटको प्रयोग बढिरहेको अवस्थामा बालबालिकालाई अनलाइन जोखिमबाट सुरक्षित राख्नु विद्यालय, परिवार र समुदायका लागि चुनौती बन्दै गएको छ।
यही आवश्यकतालाई ध्यानमा राख्दै मोरङको सुन्दरहरैँचा–१० स्थित हिमालय इङलिस स्कुलमा शिक्षक–शिक्षिकाका लागि साइबर सुरक्षा तथा बाल संरक्षणसम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ।
प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत आयोजित प्रशिक्षणमा साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, डिजिटल गोपनीयता, बालबालिकामाथि हुन सक्ने दुर्व्यवहार तथा गुड टच–ब्याड टच लगायतका विषयमा प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीले प्रविधिको प्रयोग बढेसँगै साइबर अपराध र अनलाइन जोखिम पनि बढिरहेको बताए। बालबालिका डिजिटल माध्यममा सक्रिय भइरहेकाले उनीहरूलाई सुरक्षित इन्टरनेट प्रयोगबारे समयमै जानकारी दिनुपर्ने उनको भनाइ थियो।
“बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्दा व्यक्तिगत विवरण, फोटो तथा पासवर्डजस्ता संवेदनशील सूचना सुरक्षित राख्नुपर्छ,” उनले भने। अनलाइनमा अपरिचित व्यक्तिसँगको सम्पर्क, शंकास्पद लिंक तथा ठगीका विभिन्न माध्यमबाट बालबालिका प्रभावित हुन सक्ने भएकाले शिक्षक र अभिभावक दुवै सचेत हुनुपर्ने उनले बताए।
प्रशिक्षणको अर्को महत्वपूर्ण पक्ष थियो—बालबालिकाको शारीरिक तथा भावनात्मक सुरक्षा। बालबालिकाले आफूलाई असहज लाग्ने स्पर्श वा व्यवहार छुट्याउन सक्ने गरी गुड टच र ब्याड टचबारे जानकारी दिन आवश्यक रहेको प्रहरी निरीक्षक गिरीले बताए। बालबालिकाले कुनै समस्या वा असहज अनुभव खुलेर अभिभावक, शिक्षक वा विश्वासिलो व्यक्तिसँग भन्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
सुन्दरहरैँचा नगर बाल सञ्जालका अध्यक्ष अर्जुन दाहालले बाल सुरक्षा कुनै एक पक्षको मात्र जिम्मेवारी नभएको बताए। परिवार, विद्यालय, प्रहरी, समुदाय र सम्बन्धित सबै निकायबीचको सहकार्यबाट मात्र बालबालिकाका लागि सुरक्षित वातावरण निर्माण गर्न सकिने उनको भनाइ थियो।
उनका अनुसार बालबालिकाले आफ्ना समस्या, डर वा गुनासा लुकाउनुपर्ने अवस्था आउन नदिन विद्यालय र घर दुवै ठाउँमा विश्वासको वातावरण आवश्यक छ। बालबालिकाको आवाज सुन्ने र उनीहरूको समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्ने संस्कार विकास गर्नुपर्ने उनले बताए।
हिमालय इङलिस स्कुलका प्रिन्सिपल कमल खनालले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै उनीहरूको सुरक्षा र सामाजिक चेतनालाई पनि विद्यालयले प्राथमिकतामा राख्दै आएको बताए। प्रविधिको सही प्रयोग सिकाउनु आजको शिक्षाको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै उनले प्रहरी विद्यालय सम्पर्क कार्यक्रमले शिक्षक तथा विद्यार्थीलाई सुरक्षा, साइबर सचेतना र बालअधिकारका विषयमा थप जानकारी दिन सहयोग पुगेको बताए।
प्रशिक्षणमा सहभागी शिक्षक–शिक्षिकाले पनि साइबर सुरक्षा तथा बाल संरक्षणसम्बन्धी विषयलाई विद्यालयको नियमित शिक्षण सिकाइसँग जोडेर लैजानुपर्ने आवश्यकता औँल्याएका थिए।
आजको डिजिटल पुस्तालाई केवल प्रविधि चलाउन सिकाएर मात्र पुग्दैन, त्यसको सुरक्षित र जिम्मेवार प्रयोग गर्न पनि सिकाउनुपर्ने आवश्यकता छ। बालबालिकालाई जोखिमबाट जोगाउने पहिलो कदम उनीहरूको कुरा सुन्ने, विश्वास गर्ने र आवश्यक ज्ञान दिने वातावरण निर्माण गर्नु हो।
हिमालय इङलिस स्कुलले आगामी दिनमा पनि प्रहरी तथा अन्य सरोकारवाला निकायसँगको सहकार्यमा विद्यार्थी, शिक्षक तथा अभिभावकलाई लक्षित गर्दै यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
