ग्रामथानमा लागुऔषधविरुद्ध मोरङ प्रहरीको महाअभियान, समुदाय–प्रहरी सहकार्यमा जोड

सुन्दरहरैंचा  — लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरिरहेको विशेष महाअभियानअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकामा बुधबार  वृहत् जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

लागुऔषधको बढ्दो प्रयोग नियन्त्रणका लागि समुदाय, स्थानीय सरकार, अभिभावक, शैक्षिक संस्था तथा सुरक्षाकर्मीबीचको प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइयो। जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गरिरहेको लागुऔषधविरुद्धको महाअभियानअन्तर्गत विभिन्न स्थानीय तहमा जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

ग्रामथान गाउँपालिकाको सहयोग तथा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष नमोनारायण माझी प्रमुख अतिथि तथा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल विशेष अतिथिका रूपमा सहभागी थिए। मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रहरी वरिष्ठ नायव निरीक्षक देवेन्द्र सुवेदीले गरेका थिए।

कार्यक्रमको प्रारम्भमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीले स्वागत मन्तव्य व्यक्त गर्दै पछिल्लो समय बढ्दो लागुऔषध दुर्व्यसन, त्यसले समाजमा पारेको नकारात्मक प्रभाव तथा यसको नियन्त्रणमा समुदायको सक्रिय सहभागिताको आवश्यकताबारे प्रकाश पारे।

कार्यक्रमका क्रममा नेपाल प्रहरीको टोलीले लागुऔषधविरुद्ध सन्देशमूलक गीत तथा नृत्य प्रस्तुत गरेको थियो। सांस्कृतिक प्रस्तुतिमार्फत लागुऔषध सेवनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे जानकारी गराउँदै विशेषगरी युवापुस्तालाई कुलतबाट टाढा रहन, अनुशासित, सिर्जनशील र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गरिएको थियो। उक्त प्रस्तुति सहभागीहरूको विशेष आकर्षण बनेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष नमोनारायण माझीले लागुऔषध दुर्व्यसन आजको समाजका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्दै यसको नियन्त्रण प्रहरीको प्रयासले मात्र सम्भव नहुने बताए। उनले स्थानीय तह, अभिभावक, शैक्षिक संस्था, सामाजिक संघसंस्था तथा समुदायबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको धारणा राखे।

गाउँपालिका उपाध्यक्ष गुणावती देवी थारुले युवाहरूलाई सचेत, जिम्मेवार र अनुशासित नागरिक बन्न आग्रह गर्दै यस्ता जनचेतनामूलक अभियानले समाजमा सकारात्मक सोच र व्यवहार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। उनले समाजलाई लागुऔषधमुक्त बनाउन हरेक नागरिकले आफ्नो स्थानबाट जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रमका अध्यक्ष तथा मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले समुदायमा बढ्दो लागुऔषध दुर्व्यसन नियन्त्रण गर्दै नागरिकमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले महाअभियानलाई तीव्र बनाइएको जानकारी दिए। अभियानमार्फत विशेषगरी किशोरकिशोरी र युवालाई लागुऔषध सेवनका जोखिम, त्यसबाट उत्पन्न हुने सामाजिक तथा स्वास्थ्यसम्बन्धी समस्याबारे जानकारी गराउँदै सुरक्षित, सभ्य र जिम्मेवार समाज निर्माणतर्फ प्रेरित गर्ने प्रयास भइरहेको उनले बताए।

कार्यक्रमका अवसरमा लागुऔषधविरुद्ध सबै सरोकारवाला पक्षको प्रतिबद्धता जनाउँदै ९ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर समेत गरिएको थियो। हस्ताक्षरमार्फत लागुऔषध नियन्त्रण, जनचेतना अभिवृद्धि, युवालाई कुलतबाट जोगाउने अभियानलाई प्रभावकारी बनाउने तथा समुदाय–प्रहरी साझेदारीलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

एसपी कटवालले महाअभियानले लागुऔषधविरुद्धको लडाइँमा समुदायको सहभागिता बढाउनुका साथै युवालाई सही मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा लागुऔषधमुक्त समाज निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्ने सन्देश प्रवाह गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *