सुन्दरहरैंचामा जितिया बिशेष सांस्कृतिक कार्यक्रमगरी मनाउने
एलएन गच्छदार
थारु समुदायको महत्वपूर्ण चाड जितिया सुरु भएको छ। तराईबासी आदिवासी जनजाति थारू समुदायको प्रमुखमध्येको एक जितिया बुधबारदेखि मनाउने भएको छ।
खासगरी महिलाहरुको यो चाडमा नदी किनार, पोखरी र तलाउलगायत जलासयमा भेला भएर पुजा आराधना गरी मनाउने गर्छन्। मोरंगको सुन्दरहरैंचा नगरपालिकामा समेत थारु कल्याणकारिणी सभा नगर कार्यसमिति तथा थारु महिला सभा नगरकार्य समितिले जितिया बिशेष सांस्कृतिक कार्यक्रम मनाउने भएको छ। थारु कल्याणकारिणी सभा नगर अध्यक्ष बिलट चौधरीका अनुसार कार्यक्रमको प्रचार प्रसार लगायत उपसमिति बनाएर अन्तिम चरणमा पुगेको र कार्यक्रम यस बर्ष सुन्दरहरैंचा नगरपालिकाको वडा -२, मृगौलिया बजारमा हुने बताए। कार्यक्रमको उदघाटन नगर प्रमुख केदार प्रसाद गुरागाईं र उपप्रमुख अकली चौधरीको संयुक्त बाहुलीबाट हुने बताए। सन्तानको दीर्घायु, सुख समृद्धि र मनोकामना पुरा गराउन जितियामा महिलाहरु व्रत लिने प्रचलन रहेको कल्णणकारीणी सभाका अध्यक्ष चौधरीले बताए।
तराई भेगमा बाक्लो बसोबास गर्ने थारु समुदायले खोला नाला लगायत आफू पायक पर्ने स्थानीय तलाउ जस्ता जलासयमा घाट बनाएर पुजा आराधना गर्ने गर्दछन। सन्तानलाई अकाल मृत्युबाट जोगाउन र दीघार्युका लागि माता जिर्मूतवाहन देउताको कठोर उपवास गर्ने गरिन्छ ।
चाड मनाउने क्रममा पहिलो दिन विहानैदेखि स्थानीय खोला नालामा गएर महिलाहरु स्नान गरी ब्रत र पुजाआराधना गर्ने गर्दछन् । यो बेला महिलाहरुले घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर आराध्यदेवको पूजा गर्ने गरेको र सुरु गरेको व्रत निकै नियम निष्ठाका साथ ब्रत बस्ने गरेको थारु महिला सभा सुन्दरहरैंचाकी अध्यक्ष दुर्गा चौधरीले बताईंन ।
थारु महिला सभा सुन्दरहरैंचाकी सचिव रुक्मिता चौधरीका अनु्सार यो चाडमा सप्तमी तिथिका दिन आमाहरू पोखरीमा स्नान गरी सूर्यलाई जल अर्पण गरी जिमूत वाहन देउताको पुजाआराधना गर्ने गर्दछन्। यसो गर्दा महादेवले जिमूत वाहन देउतालाई पूजा गरेर प्रसन्न हुने र यसबाट सन्तानलाई अकाल मृत्युबाट बँचाउने विश्वास लिने गरिन्छ ।
जितियामा थारु महिलाहरू आफ्नो सन्तानको दीर्घायु, सुख समृद्धि र मनोकामना पुरा होस् भन्ने हेतुले व्रत कठोर ब्रत बस्ने गरिन्छ । जितियाको अवसरमा सुन्दरहरैंचा नगरपालिकाले विगत वर्षयता एकदिन सार्वजनिक बिदा दिदै आएको छ।
