धार्मिक संस्कारसँगै सामाजिक सेवामा सक्रियता बढाउने पाथिभरा भजन समूहको प्रतिबद्धता

एलएन गच्छदार, सुन्दरहरैँचा ।

मोरङको सुन्दरहरैँचा–८, चन्द्रनगरस्थित श्री पाथिभरा भजन समूहको १५औँ साधारणसभा धार्मिक तथा सांस्कृतिक गतिविधिसँगै सामाजिक सेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित सम्पन्न भएको छ।

साधारणसभाले समूहको एक वर्षे गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजनामाथि छलफल गरेको छ। कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन तथा आय–व्यय विवरण प्रस्तुत गर्नुका साथै आगामी वर्ष सञ्चालन गरिने धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमबारे समेत छलफल गरिएको थियो।

समूहकी अध्यक्ष सावित्रा संग्रौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती प्रमुख अतिथिका रूपमा सहभागी थिए। स्वतन्त्र नागरिक समाज सुन्दरहरैँचा, मोरङका अध्यक्ष नेत्रप्रसाद चम्लागाईं र लोकप्रसाद संग्रौला विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उप्रेतीले भजन–कीर्तन धार्मिक आस्था अभिव्यक्त गर्ने माध्यम मात्र नभई समाजमा सकारात्मक सोच, सद्भाव र संस्कार विकास गर्ने महत्वपूर्ण आधार बन्न सक्ने बताए। उनले बदलिँदो पुस्तासँगै धार्मिक तथा सांस्कृतिक गतिविधिमा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिए।

“धार्मिक संस्कार र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न यस्ता संस्थाको भूमिका महत्वपूर्ण हुन्छ,” उनले भने, “भजन समूहले आफ्ना गतिविधिलाई सामाजिक सेवासँग जोड्दै अघि बढाउन सके यसको प्रभाव अझ व्यापक बन्न सक्छ।”

विशिष्ट अतिथि नेत्रप्रसाद चम्लागाईंले पाथिभरा भजन समूहले धार्मिक तथा सांस्कृतिक संरक्षणमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको बताए। भजन–कीर्तनलाई केवल धार्मिक अनुष्ठानमा सीमित नराखी सामाजिक एकता, आपसी सद्भाव र नैतिक संस्कार निर्माणको माध्यम बनाउनुपर्ने उनको भनाइ थियो।

त्यस्तै, विशिष्ट अतिथि लोकप्रसाद संग्रौलाले संस्थाको निरन्तर सक्रियता र सदस्यबीचको एकताले समूहलाई थप मजबुत बनाउने बताए। उनले आगामी दिनमा धार्मिक कार्यक्रमसँगै सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई प्राथमिकतामा राखेर अघि बढ्न सुझाव दिए।

साधारणसभामा समूहकी सचिव उमा फुयालले वार्षिक प्रतिवेदन तथा कार्यक्रम सञ्चालन गरेकी थिइन्। प्रस्तुत प्रतिवेदनमा समूहले एक वर्षको अवधिमा सञ्चालन गरेका धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधि, आर्थिक कारोबार र आगामी योजनाको विवरण समेटिएको थियो।

साधारणसभाकै अवसरमा समूहमा आबद्ध दुई जना विद्यार्थी तथा केही कर्मचारीलाई सम्मान गरिएको थियो। समूहका गतिविधिमा योगदान तथा आ–आफ्नो क्षेत्रमा सक्रियताका लागि उनीहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा समूहका पदाधिकारी, सदस्य, विद्यार्थी, कर्मचारी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पाथिभरा भजन समूहले आफ्नो मौलिक धार्मिक तथा सांस्कृतिक पहिचानलाई जोगाउँदै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समेत निरन्तरता दिनुपर्ने धारणा राखेका थिए।

१५औँ साधारणसभाले विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा धार्मिक आस्था, सांस्कृतिक संरक्षण, सामाजिक सद्भाव र मानवीय सेवाको अभियानलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *