धनकुटामा डिजिटल सदस्यता अभियानमा काँग्रेस , भेडेटारमा कार्यकर्तालाई अनुशिक्षण

नेपाली काँग्रेस धनकुटाले क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई तीव्रता दिँदै साँगुरीगढी गाउँपालिकाका विभिन्न वडाका प्रतिनिधिलाई भेडेटारमा डिजिटल सदस्यता अद्यावधिकसम्बन्धी अनुशिक्षण प्रदान गरेको छ।

‘जरा अभियान’ अन्तर्गत आयोजित एकदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सभापति दिनेश राईले डिजिटल सदस्यता प्रणालीले पार्टी संगठनलाई व्यवस्थित बनाउनुका साथै डिजिटल नेपाल निर्माणको अवधारणासँग जोडिएको ‘डिजिटल काँग्रेस’ अभियानलाई बल पुग्ने बताए।

कार्यक्रममा वडा सभापति तथा आइटीसँग आबद्ध प्रतिनिधिहरूलाई जिल्ला सभापति राई र जिल्ला सचिव विजय सन्तोष राईले डिजिटल प्रणालीमार्फत क्रियाशील सदस्यता अद्यावधिक गर्ने विधिबारे प्रशिक्षण दिएका थिए।

महासमिति सदस्य आनन्द सन्तोषी, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष एवं क्षेत्रीय सभापति जितेन्द्र राई, जिल्ला सदस्य रमेश इवाहाङ तथा वडा नं. २ का वडाध्यक्ष योगेन्द्र इवाहाङलगायत वक्ताहरूले डिजिटल सदस्यता अभियानले पार्टीलाई तथ्याङ्कीय रूपमा थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने धारणा राखेका थिए।

गाउँपालिका सभापति धनराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिका कार्यसमितिका सचिव आइत इङनामले राखेका थिए। प्रशिक्षणपछि विभिन्न वडाका सभापति तथा प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रमा डिजिटल सदस्यता अद्यावधिक कार्य सुरु गरेका छन्।

जिल्ला सचिव विजय सन्तोष राईका अनुसार धनकुटाका सबै वडामा सदस्यता अद्यावधिक कार्य तीव्र रूपमा अघि बढिरहेको छ भने केन्द्रीय समितिले तोकेको जेठ २१ गतेभित्र सम्पूर्ण प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *