हरैंचा मोडेल सेकेण्डरी स्कुलमा ६५ साना बालबालिकाको दीक्षान्त, खुसी र उत्साहले भरिएको क्षण
एलएन गच्छदार / सुन्दरहरैंचा
मोरङको सुन्दरहरैंचा नगरपालिका–१ स्थित हरैंचा मोडेल सेकेण्डरी स्कुलमा प्राइमरी ब्लक अन्तर्गत आधारभूत तहमा प्रवेश गर्ने ६५ जना साना बालबालिकालाई एक विशेष तथा भावनात्मक समारोहबीच दीक्षित गरिएको छ।
विद्यालय प्राङ्गणमा आयोजित उक्त दीक्षान्त समारोह अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो। दीक्षित भएका बालबालिकाले दीक्षान्त टोपी र गाउनमा सजिँदै प्रमाणपत्र ग्रहण गर्दा कार्यक्रम स्थल खुसी, गर्व र उत्साहले भरिएको देखिन्थ्यो। अभिभावकहरूका लागि आफ्ना सन्तानको शैक्षिक यात्राको पहिलो औपचारिक खुड्किलो पार गरेको क्षण निकै भावुक र स्मरणीय बनेको थियो।
कार्यक्रममा बालबालिकाहरूले प्रस्तुत गरेका विभिन्न नृत्य तथा सिर्जनात्मक प्रस्तुति मुख्य आकर्षण बनेका थिए। साना उमेरमै देखिएको आत्मविश्वासपूर्ण प्रस्तुतीले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो।
विद्यालयका संस्थापक तथा प्रबन्ध निर्देशक घनश्याम रिमालले आफ्नो धारणा व्यक्त गर्दै प्रारम्भिक शिक्षालाई जीवनको आधारस्तम्भका रूपमा लिँदै बालबालिकाको सर्वाङ्गीण विकासमा विद्यालय प्रतिबद्ध रहेको बताए। उनले यस्ता कार्यक्रमहरूले बालबालिकामा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै सिकाइप्रति रुचि जगाउने विश्वास व्यक्त गरे।
डाइनामिक इन्टरनेशनल कार्यक्रम निर्देशक अन्जु रेग्मीले प्रारम्भिक शिक्षा बालबालिकाको भविष्य निर्माणको आधार भएको उल्लेख गर्दै विद्यालय र अभिभावकबीचको सहकार्यले मात्र गुणस्तरीय शिक्षा सम्भव हुने बताइन्। उनले दीक्षान्त समारोहले बालबालिकामा नयाँ ऊर्जा, उत्साह र जिम्मेवारीबोध विकास गर्ने धारणा राखिन्।
समग्र कार्यक्रम अभिभावक र विद्यार्थीका लागि खुसी र गर्वको विशेष पलका रूपमा सम्पन्न भएको विद्यालयले जनाएको छ।
