कोशी प्रदेशस्तरीय भलिबल प्रतियोगिता : उपाधि भिडन्तमा लेटाङका दुवै टिम, घरेलु दर्शकमा उत्साहको रौनक
एलएन गच्छदार , लेटाङ – खेलप्रेमी नगरका रूपमा चिनिने लेटाङ यतिखेर भलिबलको रंगमा रङिएको छ । लेटाङ नगर भलिबल क्लबको आयोजनामा जारी कोशी प्रदेशस्तरीय अन्तरपालिका महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तिम चरणमा पुगेको छ, र यसपटक घरधनी लेटाङले दुवैतर्फ — पुरुष र महिला — उपाधि भिडन्तमा स्थान बनाएर नगरकै गौरव बढाएको छ ।
बुधबार सम्पन्न सेमीफाइनल खेलपछि फाइनल समीकरण टुंगिएको हो । पुरुषतर्फ लेटाङ ए टीमले उत्कृष्ट प्रदर्शन गर्दै शिवसत्ताक्षि झापालाई पराजित गर्दै फाइनलमा स्थान बनायो । सोही क्रममा भद्रपुर झापाले आयोजककै लेटाङ बी टीमलाई हराउँदै उपाधि भिडन्तमा आफ्नो स्थान पक्का गर्यो । अब बिहीबार बिहान ११ बजे हुने फाइनलमा लेटाङ ए र भद्रपुर झापाबीच रोमाञ्चक भिडन्त हुनेछ ।
त्यस्तै महिलातर्फ पनि लेटाङकै चमक देखिएको छ । लेटाङ ए टिमले सेमीफाइनलमा दमकलाई सहजै पराजित गर्दै फाइनल प्रवेश गर्यो भने केपिलासगढी खोटाङले आमचोक भोजपुरलाई पराजित गर्दै उपाधि भिडन्तमा लेटाङसँग भेट पक्का गर्यो ।
यो प्रतियोगिता असोज २७ गतेदेखि सुरु भएर असोज ३० गतेसम्म चल्दैछ । यसमा २४ टिम (१६ पुरुष र ८ महिला) सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र ट्रफी, उपविजेताले ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।
लेटाङ नगर भलिबल क्लबको सक्रियता र लेटाङ नगरपालिकाको सहकार्यमा सम्पन्न यो प्रतियोगिता केवल खेलकुदको मात्र होइन, नगरको सामाजिक एकता र खेल संस्कृतिको प्रतीक बनेको छ । स्थानीय दर्शकहरूको उत्साह, युवा खेलाडीहरूको प्रदर्शन र खेलमैत्री वातावरणले लेटाङलाई फेरि एकपटक भलिबलको केन्द्रबिन्दु बनाएको छ ।
बिहीबारको फाइनल खेलसँगै लेटाङमा भलिबलको रोमाञ्चक रङ्गीन दृश्य हेर्न स्थानीयको भीड लाग्ने अनुमान गरिएको छ – जहाँ उपाधि मात्र होइन, गौरव र सम्मानको खेल हुनेछ ।




