स्वतन्त्र नागरिक समाज, सुन्दरहरैंचा मोरङ : जनचेतनाको नयाँ कदम
एलएन गच्छदार / सुन्दरहरैंचा
सुन्दरहरैंचा नगरपालिका–१० स्थित पानस पार्टी प्यालेसमा भव्य कार्यक्रमका बीच स्वतन्त्र नागरिक समाज, सुन्दरहरैंचा मोरङको औपचारिक उद्घाटन सम्पन्न भएको छ। उद्घाटन समारोहमा स्थानीय प्रतिनिधि, सामाजिक अभियन्ता, विभिन्न संघसंस्था र सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ नागरिक समाजका अध्यक्ष रामकुमार कार्कीले समाजमा देखिएका विकृति र विसंगतिविरुद्ध नागरिकको सशक्त भूमिका आवश्यक रहेको बताए। उनले भने “समाज सुधारका लागि राज्य मात्र होइन, प्रत्येक सचेत नागरिकले पनि आफ्नो कर्तव्य निभाउनुपर्छ।”
स्वतन्त्र नागरिक समाजका अध्यक्ष नेत्रप्रसाद चौलागाईंले संस्थाको उद्देश्य, लक्ष्य र आगामी योजनाबारे विस्तृत जानकारी प्रस्तुत गरे। उनका अनुसार संस्था मुख्यतया सामाजिक न्याय, पारदर्शिता र जनचेतना अभिवृद्धि गर्न स्थापना गरिएको हो।
“समाजमा फैलिएका बेथिति, अनियमिता र भ्रष्टाचारविरुद्ध हामी सशक्त आवाज उठाउनेछौं। साथै, शिक्षा, स्वास्थ्य, सरसफाइ र सामाजिक सेवाका क्षेत्रमा पनि क्रियाशील रहनु हाम्रो प्राथमिकता हुनेछ,” अध्यक्ष चौलागाईंले भने।
कार्यक्रमका अन्य वक्ताहरूले पनि संस्थाले स्थानीय स्तरमा जनसहभागिता र सचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरे।
अध्यक्ष चौलागाईंले भने ” सर्वसाधारणलाई आवाज दिने, समस्या उठाउने र समाधानको पहल गर्ने संस्थाको खाँचो थियो। यो समाजमा दबिएका आवाजलाई बलियो बनाउनेछ भन्ने विश्वास लिएको छु।”
समारोहमा बोल्ने धेरैले संस्थाले नागरिक हक अधिकारका विषयमा सचेतना फैलाउने, पारदर्शिता र जवाफदेहितामा जोड दिने र सामाजिक समस्याहरूमा जनस्तरबाटै दबाब सिर्जना गर्ने अपेक्षा राखे।
संस्थाको अध्यक्षमा चौलागाईं सहित उपाध्यक्षमा मोहन प्रसाद ढकाल, सचिवमा नवीन दाहाल, कोषाध्यक्षमा निर्मला बजगाई, सह-सचिवमा लिला बिष्ट तथा सदस्यहरूमा नरबहादुर गुरुङ, मान बहादुर श्रेष्ठ, अर्जुन भुजेल, तारा श्रेष्ठ, दिपक रिजाल, विष्णु पोख्रेल लगायत कार्यसमितिमा रहेका छन्।
स्वतन्त्र नागरिक समाजले सामाजिक सेवा सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ।
समारोहको अन्त्यमा संस्थाका सदस्यहरूले उपस्थित सबैलाई समाजको गतिविधिमा सक्रिय सहभागिता जनाउन आह्वान गरे।
सुन्दरहरैंचामा स्थापनाको यो कदमले स्थानीय स्तरमा नागरिकको सहभागिता, जवाफदेहिता र सचेतनालाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ। यस संस्थाको गतिविधिले आगामी दिनमा समाज सुधार र पारदर्शी प्रशासन निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

