बेलका नगरपालिकामा महिला अधिकार तथा नेतृत्व विकास अभिमुखीकरण कार्यक्रम सम्पन्न
रामपुर, उदयपुर/ जेठ ८ गते
“आर्थिक, सामाजिक र भौतिक पूर्वाधार – बेलका नगर विकासको प्रमुख आधार” भन्ने नारासहित महिला अधिकार तथा नेतृत्व विकाससम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
बेलका नगरपालिकाको आर्थिक सहयोगमा र वडा नं. ३ तथा ९ को संयुक्त आयोजनामा आयोजित कार्यक्रम रामपुरस्थित सिटी हलमा बिहीबार सम्पन्न भएको हो।
कार्यक्रममा महिलाको नेतृत्व क्षमता अभिवृद्धि, अधिकारको प्रभावकारी उपयोग, लैङ्गिक समानता र सामाजिक सहभागिता सम्बन्धी महत्वपूर्ण विषयहरूमा जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि बेलका नगर प्रमुख अशोक कार्कीले महिलाहरूले आज पनि महिलाबाटै शोषण भोग्नुपरेको कटु यथार्थप्रति दुःख व्यक्त गर्दै भने:”महिलालाई सशक्त बनाउन महिलाकै संलग्नता र ऐक्यबद्धता आवश्यक छ।” उनले आगामी नीति तथा कार्यक्रममा महिला सशक्तिकरणका कार्यक्रमहरूलाई प्राथमिकता दिइने र थप बजेट विनियोजन गरिने स्पष्ट पारे। त्यस्तै, उनले भौतिक पूर्वाधार विकास मात्र पर्याप्त नरहेको, सँगै मानव संसाधनको सशक्त विकास पनि अनिवार्य रहेकोमा जोड दिए।
नगर उपप्रमुख जिरा राईले महिलाको नेतृत्व हरेक क्षेत्रमा अत्यावश्यक भएको बताउँदै भनिन्: “महिला अधिकार संविधानमा मात्र सीमित छैन, त्यसको व्यवहारमा प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण छ।” उनले राज्यले महिला अधिकारको सुनिश्चितताका लागि विशेष व्यवस्था गर्नु पर्ने आवश्यकता औंल्याइन्।

त्यस्तै, वडा नं. ३ का अध्यक्ष टंक आचार्यले समेत आफ्नो धारणा राख्दै कार्यक्रमले सामाजिक रूपान्तरणमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनले वडा स्तरीय कार्यक्रमबाटै समावेशी सचेत समाज निर्माणको आधार तय गर्न सकिने धारणा राखे।
कार्यक्रममा एल.एन. गच्छदार र पार्वती गच्छदारले सहजकर्ताको रूपमा सहजीकरण गर्दै सहभागीहरूसँग अन्तर्क्रियात्मक छलफल, समूह कार्य र नेतृत्व अभ्यास गराएका थिए।
वडा नं. ३ र ९ का जनप्रतिनिधि, महिला समूहका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सो समापन कार्यक्रम वडा सदस्य कल्पना विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।
यो दुई दिने अभिमुखीकरण कार्यक्रमले महिलाको आत्मबल, सामाजिक उत्तरदायित्व र नेतृत्व विकासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
स्थानीय सरकारको सहयोगमा सञ्चालित यस्ता कार्यक्रमहरू दिगो विकास र समावेशी समाज निर्माणको आधार बन्नेमा सहभागीहरू आशावादी देखिए।




